शुक्रवार , फाल्गुण ८, २०८२
भैरहवा, ८ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बिहीबार विद्यालय परिसरमा विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम गरेको हो । समारोहको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै मेयर खाँले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक युवराज पोख्रेलले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर जोड दिदै आएको बताउनुभयो । उहाँले विद्यालयले पाठ्यपुस्तकमा सीमित शिक्षा मात्र नभइ व्यवहारिक, नैतिक तथा अनुशासित शिक्षालाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद शर्मा, प्याब्सनका निवर्तमान केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, लुम्बिनी प्रदेश कोषाध्यक्ष महेश भुर्तेल, अभिभावक कमला मरासिनी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । त्यस्तै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विविध साँस्कृतिक प्रस्तुति प्रस्तुत गरी अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । विद्यालयले आधुनिक प्रविधियुक्त कक्षा कोठा, अतिरिक्त क्रियाकलाप, खेलकुद कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटनमा विशेष ध्यान दिँदै आएको जनाएको छ । शैक्षिक उपलब्धिसँगै अनुशासन, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वबोध अभिवृद्धिमा समेत विद्यालयले जोड दिदै विद्यालयका प्रबन्ध निर्देशक युवराज पाण्डेले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij