२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

भानु माविले मनायो स्वर्ण महोत्सव

आइतवार , फाल्गुण १०, २०८२

  • 175
    Shares
  • 175
    Shares
  • भैरहवा, १० फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालयले शनिबार स्वर्ण महोत्सव मूल समारोहको आयोजना गरी मनाएको हो ।

    समारोहसँगै स्मारिका बिमोचन, अभिभावक दिवस, छात्रवृत्ति वितरण, जग्गादाता, छात्रवृत्ति दाता, पत्रकार, सहयोगी व्यक्ति तथा संघ–संस्था सम्मान एवं साँस्कृतिक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले बताउनुभयो । प्रधानाध्यापक सुवेदीका अनुसार विद्यालयले कठौतिया गाउँबाट विद्यार्थी भर्नासँगै पठनपाठन सुरु गरेको थियो । विभिन्न स्थान हुँदै हालको स्थायी भवनसम्म आइपुग्दा विद्यालयले अनेक चुनौती पार गर्दै शैक्षिक उन्नतिको यात्रा तय गरेको छ । सरकारी स्वीकृतिको क्रमअनुसार कक्षा १ बाट सुरु भइ क्रमशः कक्षा ५ सम्म, त्यसपछि निमावि र मावि तहमा स्तरोन्नति भएको विद्यालयले २०५२ माघमा स्थायी स्वीकृति र चार शिक्षक दरबन्दी प्राप्त गरेको थियो । 

    २०७६ सालमा कक्षा ११ र १२ सञ्चालनको स्वीकृति प्राप्त गरी हाल कानून, व्यवस्थापन र शिक्षा संकायमा पठनपाठन भइरहेको सुवेदीले बताउनुभयो ।  यद्यपि कक्षा ११–१२ तर्फ हालसम्म कुनै स्थायी दरबन्दी वा नियमित आर्थिक सहयोग प्राप्त हुन नसकेको विद्यालय प्रशासनले जनाएको छ । 

    पछिल्लो चार वर्षदेखि अंग्रेजी माध्यम कक्षा सञ्चालनमा ल्याइएको छ । हाल कक्षा ३ सम्म र कक्षा ६–७ मा अंग्रेजी माध्यम सञ्चालनमा रहेको छ भने यसलाई क्रमशः कक्षा १२ सम्म विस्तार गर्ने योजना रहेको प्रधानाध्यापक मोतीलाल सुवेदीले जानकारी दिनुभयो ।

    विद्यालयका प्रधानाध्यापक सुवेदीले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनमा विद्यालयको भौतिक संरचना विस्तार, प्रविधिमैत्री शिक्षण पद्दति, परीक्षा परिणाममा सुधार, अतिरिक्त क्रियाकलापमा सक्रियता तथा सामुदायिक सहकार्यका उपलब्धीहरू उल्लेख गरिएको थियो ।

    विद्यालय स्थापनाकालमा तत्कालीन वडाअध्यक्ष स्वर्गीय चेतनारायण खरेलको अगुवाइ तथा संस्थापक प्रधानाध्यापक वैकुण्ठ प्रसाद लम्सालको नेतृत्वमा शैक्षिक यात्रा प्रारम्भ भएको थियो । त्यसयता वैकुण्ठ प्रसाद लम्साल, भीम प्रसाद लामिछाने, उमानाथ खनाल, तेज प्रसाद पाण्डे, बलराम शर्मा र उमाशंकर त्रिपाठीले प्रधानाध्यापक वा निमित्त प्रधानाध्यापकका रुपमा नेतृत्व सम्हाल्नुभएको छ ।

    समारोहको उद्घाटन गर्नुहुँदै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले विद्यालयमा लगानी गर्नेहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । ‘जग्गादातालाई त झन बिर्सनुहुँदैन । यो विद्यालयलाई नगरपालिकाले सक्दो सहयोग गर्छ । नगरपालिका भानु माविको साथमा छ, ’उहाँले भन्नुभयो । भानु माविले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उहाँले बताउनुभयो । ‘यो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु धेरै राम्रा ठाउँमा पुग्नुभएको छ । विभिन्न क्षेत्रमा स्थापित हुनुभएको छ । भानु माविले आगामी दिनमा पनि अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै जाओस्, ’नगरप्रमुख खाँले भन्नुभयो ।

    उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले मुलुकको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

    सिद्धार्थनगर नगरपालिका–९ का वडाअध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षता, सहायक प्रधानाध्यापक पवित्रा कोइराला र महेश प्रसाद गुप्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।