बिहिवार , फाल्गुण १४, २०८२
रुपन्देही, १४ फागुन । बुटवलको सुप्रिम सहकारी संस्थाका पीडितहरु अब रकम फिर्ता माग्यो भने गालीगलौज खेपेर सामाजिक बहिस्कारमा पर्ने डरले खुलेर बोल्न छाडेका छन् । यो सहकारीमा एकैजना व्यक्तिले दुई करोडसम्म बचत फिर्ता पाएका छैनन् । उनीजस्ता धेरै जनाको रकम वर्षौदेखि अलपत्र पारिएको छ । बुटवलका स्थापित व्यवसायीहरु यस्तो पीडामा परे पनि अहिले बोल्न समेत छाडेका छन् । यसका पीडितमध्ये थोरै रकम जम्मा भएकाहरुलाई चुप लगाएर अरुलाई दबाब दिन थालिएको पीडितहरुले बताएका छन् ।
एक जना स्थापित व्यवसायी जसले सुप्रिम सहकारीमा बचत गरेको ३५ लाखभन्दा बढी रकम गुमाउनुपरेको छ, तर उनले अचेल उक्त विषयमा बोल्न नै नसक्ने अवस्थामा पुगेको बताउँछन् । ‘धेरै नेता गुहारियो, सरकारलाई गुहारियो, बोलेर थाकियो अब शान्त बस्नु नै ठिक ।’–सहकारी गठीमा परिरेहका ती व्यवसायीले सञ्चारकर्मीहरुसँग समेत अनकनाउँदै भने, ‘अहिले त आफूले पाउनुपर्ने सहकारीको रकम माग्दा पनि सामाजिक बहिष्कारमा पर्ने हो कि भन्ने डर पो छ, त्यसैले मेरो नाम उल्लेख नगर्नुहोला ।’
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको मुद्दामा सहकारीका अध्यक्ष ओम गुरुङ अहिले पनि भैरहवास्थित जिल्ला कारागारमा छन् भने उक्त मुद्दामा मुछिएका रवि लामिछाने राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा) को सभापति भएर चुनावमा भोट माग्दै देश दौडाहामा व्यस्त छन् । रास्वपा सभापति लामिछानेसँग जोडिएको सुप्रिम सहकारीका पीडितले यस बारेमा सामाजिक सञ्जालमा केही लेखे वा बोलेमा उनीहरुमाथि खनिने डरले नै बोल्न छाडेको बताउँछन् ।
बुटवलमा गठन भएको सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको चिर्वाचनमा उम्मेदवार भएका हरेक नेताहरुलाई ध्यानाकर्षण गराइएको छ । सहकारीको रकम फिर्ता माग्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, नेपाली काँग्रेसका नेता चुन्नप्रसाद पौडेल, एमाले नेता बासुदेव घिमिरे, राप्रपाका उम्मेदवार गौरव बोहोरा, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदिप पाण्डेय लगायतका नेताहरुलाई समितिले ध्यानाकर्षण पत्र बुझाइसकेको छ । यति मात्र होइन सहकारी ठगी मुद्दामा जोडिएका रवि लामिछानेको पार्टी रास्वपाका तर्फबाट रुपन्देहीमा उम्मेदवार बनेका सुलभ खरेललगायतलाई समेत समितिले ध्यानाकर्षण पत्र बुझाएको नेपाल बताउनुहुन्छ । सहकारीको रकम फिर्ताको विषयमा रास्वपा उम्मेदवार खरेलले अहिले फागुन २१ सम्म निर्वाचनमा व्यस्त भएको र त्यसपछि मात्रै पहल गर्ने जवाफ दिएको सहकारी पीडित बताउँछन् ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले २ करोड ७४ लाख ८४ हजार विगो दाखिल गरेर अहिले बाहिर रहेका छन् । यद्यपि मुद्दाको छिनोफानो लाग्न बाँकी छ । रविविरुद्ध रुपन्देहीसहित कास्की, काठमाडौं, चितवन र पर्सा जिल्ला अदालतमा पनि सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन नै छन् ।
तिलोत्तमा नगरपालिकाको शंकरनगर बस्ने ५५ वर्षीय भेषराज पौडेलले आफूसहित परिवारका चारजनाले गरेको बचत सहकारीमै विलय भएपछि बचत फिर्ता पाउने आशा करिब सकिएको गुनासो गर्नुहुन्छ । रोजगारका लागि भारतमा गएर जीवनभर कमाएको रकम उहाँले सहकारीमा बचत गर्नुभएको थियो । हाल सेवानिवृत्त जीवन बिताइरहनुभएका उहाँले परिवारका अन्य ३ सहित ३३ लाख बढी रकम सहकारीमा जम्मा गर्नुभएको थियो । ‘सहकारीको रकम फिर्ता गराउनका लागि रास्वपा उम्मेदवारलाई पनि भेटेर भनियो । उहाँले त उल्टै आश्चार्य मानेजस्तो कुरा गरेर टाढिनुभयो ।’–पौडेलले भने, आखिर हामीले जीवनभर खाइनखाई बचत गरेको पैसा पाउने आशा गुमिसक्यो ।
तिलोत्तमाको ड्राइभरटोलमा डेरी व्यवसाय गरेर बसेकी विमला शर्माले सहकारीमा बचत गरेको ४२ लाखभन्दा बढी रकम फिर्ता पाउनुभएको छैन । रकम फिर्ता माग्दै विभिन्न आन्दोलन तथा विरोध कार्यक्रममा सहभागी भए पनि फिर्ता हुनै कुनै संकेत नदेखिएको गुनासो गर्दै उहाँले अब पनि न्याय पाउनेमा आशा मरिसकेको निराशा सुनाउनुभयो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा लाखौं रकम गुमाएका बचतकर्ता अहिले उक्त विषयमा खुलेर बोल्न पनि चाहदैनन् । मुलुक प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको छ । दल तथा दलका नेताहरुको आ–आफ्नै चुनावी प्रतिवद्धताहरु छन्, तर सहकारी पीडितहरुको माग पूरा गर्ने संकेत भने कसैले नदेखाएको उनीहरुको गुनासो छ । सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति नै राजनीतिक शक्तिको आडमा भोट माग्दै हिँड्दा उनीहरुविरुद्ध बोले उल्टै बहिस्कारमा पर्ने पीडितहरुको डर छ । सामाजिक सञ्जालहरुमा आउने अभद्र र अश्लिल गालीगलोजको डरले पनि आफूहरु बोल्न नसकिरहेको उनीहरु बताउँछन् ।
केही दिनअघि रुपन्देही २ मा रास्वपाका उम्मेदार रहेका सुलभ खरेललाई कालिकानगरमा सहकारी पीडितले बसेको घरमै पुगेर धर्ना दिएका थिए । रास्वपाका नेताहरुसँग प्रत्यक्ष जोडिएको सहकारीका पीडितहरुले निर्वाचनकै समयमा त्यो विषयलाई सचेत गराउने गरी अघि बढेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij