बिहिवार , फाल्गुण १४, २०८२
भैरहवा, १४ फागुन । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार रहनुभएका नेकपा (एमाले) का नेता बासुदेव घिमिरेले बिहीबार पनि चुनावी घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । बिहीबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ र ९ का विभिन्न टोल–बस्तीमा पुगेर उहाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मत माग्नुभएको हो ।
घरदैलोका क्रममा घिमिरेले ज्येष्ठ नागरिकसँग आशीर्वाद लिनुका साथै युवा, किसान र व्यवसायीसँग छलफल गर्नुभएको थियो । घिमिरेसमक्ष मतदाताले सडक स्तरोन्नति, मलखाद–बिउबिजन, सिंचाई, शिक्षा, स्वास्थ्य र रोजगारीका विषय उठाएका थिए । उहाँले जनताका सुझाव र गुनासालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मतदाताले तिलोत्तमा नगरपालिकाको प्रमुख र प्रतिनिधि सभा सदस्यका रूपमा गरेका कामको स्मरण गर्दै घिमिरे परीक्षण भइसकेको, अनुभवी र काम गरेर देखाइसकेको नेतृत्व भएको प्रतिक्रिया दिएका छन् । विकास निर्माण, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका आधारमा घिमिरेलाई अवसर दिनुपर्ने उनीहरूको भनाइ छ ।
घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, रणनीतिक सडक स्तरोन्नति, कृषि क्षेत्रको सुधार, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र भ्रष्टाचारमुक्त प्रशासनलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij