बिहिवार , फाल्गुण १४, २०८२
भैरहवा, १४ फागुन । २०८२ वैशाख ३० गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्नुभएका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता पुनः पार्टीमा फर्कनुभएको छ । गुप्तालाई बिहीबार भैरहवामा आयोजित कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार क्याप्टेन गौरव बोहरा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणालगायतले पार्टीमा स्वागत गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नेता गुप्ताले विगत ८ वर्षदेखि आफू राप्रपामा क्रियाशील भएको बताउनुभयो । ‘९ महिनापछि पार्टीको सक्रिय राजनीतिमा फर्किएको छु, हिजोको दिनमा हामी के कारणले टाढा भयौं, त्यो पछिको कुरा हो । जेनजी आन्दोलनपछि धेरै कुरा जलेर गयो, त्यसमा रिस, खराब विचारहरु, देश, समाजप्रति गलत मानसिकता पनि जलेर गएका छन् । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा राप्रपाले बोकेको एजेण्डा राजसंस्था र हिन्दूराष्ट मेरो पनि एजेण्डा हो, ’गुप्ताले भन्नुभयो ।
उहाँले नेपालको राजनीति अहिले गम्भिर मोडमा रहेको बताउनुभयो । गुप्ताले राजसंस्था र हिन्दूराष्ट पुर्नस्थापनाका लागि अगाडि बढेको बताउनुभयो । ‘राप्रपा आफ्नो एजेण्डामा स्पष्ट छ, राप्रपा मेरो पुरानो पार्टी हो, ’उहाँले भन्नुभयो ।
राप्रपा जिल्ला अध्यक्ष तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख सागर प्रताप राणाले पार्टीमा फरक मत राख्ने कुरालाई अन्यथा लिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो–विगत केही महिनाअघि पार्टी छोडे पनि अजय कुमार गुप्ताको मन यही पार्टीभित्र थियो । त्यसैले पनि हामीले प्रयास र पहल गर्दा उहाँले सहर्ष स्वीकार्दै राप्रपामा फर्किनुभएको छ, ’राणाले भन्नुभयो ।
अजय कुमार गुप्ता पार्टीको सिपाही रहेको र उहाँलाई उचित जिम्मेवारी दिइने राणाले बताउनुभयो ।
पार्टीका जिल्ला सचिव बलराम शर्माले अजय कुमार गुप्ता राप्रपा फर्कनुभएपछि आगामी निर्वाचनमा पार्टी थप मजबुत बन्ने आधार तयार भएको बताउनुभयो । ‘आफ्नो राजनीतिक यात्रा राप्रपाबाट नै म अगाडि बढाउन सक्छु भन्दै पार्टीले राखेको प्रस्ताव सहर्ष स्वीकार्दै घर फर्कनुभएको छ, यो खुसीको कुरा हो, ’शर्माले भन्नुभयो ।
गुप्ता सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । उनी लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीको निवर्तमान अध्यक्ष, नेपाल–भारत अवध मैत्री समाजको अध्यक्ष, श्री दुर्गा सामूदायिक सेवा केन्द्र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ४ र ५ को अध्यक्ष, काशी नोबल एकेडेमी सञ्चालक समितिको उपाध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा हुनुहुन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij