२०८२, फाल्गुण १७ गते

Mar 01 2026 | २०८२, फाल्गुण १७ गते

रुपन्देही–३ मा प्रलोपाको उम्मेदवार र रास्वपा वडा सभापति राप्रपा प्रवेश

आइतवार , फाल्गुण १७, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै गर्दा रुपन्देहीमा राजनीतिक समीकरण फेरिएको छ । दुई फरक–फरक विज्ञप्तीमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का स्थानीय नेताहरूले पार्टी परित्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने घोषणा गरेका छन् ।

    रास्वपा सिद्धार्थनगर नगरपालिका–३ का सभापति राजकुमार श्रेष्ठले विज्ञप्ती जारी गर्दै आफूले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले राप्रपामा प्रवेश गरेको उल्लेख गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहरालाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो ।

    श्रेष्ठले मुलुकमा राजसंस्था, हिन्दू राष्ट्र पुनःस्थापना र संघीयता खारेजीसहित सुशासन कायम गर्न आवश्यक रहेको उल्लेख गर्दै राप्रपाका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष अपील समेत गर्नुभएको छ ।

    त्यस्तै प्रलोपाकी केन्द्रीय समिति सदस्य समेत रहनुभएकी प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार विमलादेवी विकले पनि पार्टीबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले लामो समयदेखि पार्टीमा आबद्ध भइ काम गर्दै आएको जनाउँदै वर्तमान राष्ट्रिय परिस्थिति, सम्भावित विदेशी हस्तक्षेप, धर्म–संस्कृति र राष्ट्रियतामाथि देखिएको चुनौतीप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

    विकले राष्ट्रको संरक्षणका लागि राष्ट्रवादी शक्तिको आवश्यकता औंल्याउँदै राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बोहरालाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । आफू प्रलोपाको समानुपातिक सूचीमा नरहने समेत उहाँले जानकारी दिनुभयो । दुवै नेताले जारी गरेका विज्ञप्तीमा मतदातालाई चुनाव चिन्ह ‘हलो’ मा मतदान गरी राष्ट्रवादी शक्तिलाई सुदृढ बनाउन आग्रह गरिएको छ ।

    राप्रपा उम्मेदवार वरिष्ठ पाइलट बोहराले विक र श्रेष्ठको प्रवेशले पार्टीलाई थप बलियो बनाएको बताउनुभयो । उनले धर्म संस्कृति रक्षाका लागि सबै गोलबन्द हुनुपर्नेमा जोड दिनुभयो ।
    पछिल्लो समय रुपन्देही–३ मा दल र स्वतन्त्र उम्मेदवारले राप्रपालाई समर्थन गरिरहेका छन् । केही समयअघि स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीले बोहरालाई समर्थन गर्नुभएको थियो । त्यसको केही समयपछि थारु अगुवा धनिराम चौधरी राप्रपा प्रवेश गर्नुभएको थियो ।

    त्यसै गरी केही महिना अघि राप्रपा परित्याग गर्नुभएका पूर्व जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता पुनः पार्टीमा फर्किनुभएको छ । राप्रपा प्रवेश लहरले आफूहरुलाई निर्वाचन परिणाम आफ्नोतर्फ पार्न थप सहजता भएको राप्रपा जिल्ला सचिव बलराम शर्माले बताउनुभयो ।

    निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नम्बर ३ मा विभिन्न दलका नेता–कार्यकर्ताहरूबीच दल परिवर्तन र समर्थन घोषणाले राजनीतिक माहोल थप तातेको छ ।