२०८२, फाल्गुण २० गते

Mar 04 2026 | २०८२, फाल्गुण २० गते

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैन : मौसम विभाग

बुधवार , फाल्गुण २०, २०८२

  • 34
    Shares
  • 34
    Shares
  • काठमाडौं, २० फागुन । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन (फागुन २१ गते) देशभरको मौसम सफा रहने बताएको छ । 

    न्युज एजेन्सी नेपालसँग कुरा गर्दै विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताउनुभएको हो । उहाँले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको समेत बताउनु भयो ।

    उहाँले लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिएपनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना नरहेको बताउनु भयो । उहाँकाअनुसार मतदानको दिन बिहीवार वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । उहाँले मुलुकका पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । 

    वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो, ‘अहिले हामीले निर्वाचनको लागि भनेर विशेष बुलेटिन पनि जारी गरिरहेका छौँ । हामी एक हप्ता अगाडिदेखि नै विशेष बुलेटिनको साथै नियमित अपडेट पनि जारी गरिरहेका छौँ । हामीले हेर्दाखेरी निर्वाचनको दिन पानी पर्ने सम्भावना छैन । मतदानको दिन मौसम राम्रो नै रहन्छ ।

    यद्यपि वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । र बादलसँगै तुवाँलो पनि छ यसमा किनभने वर्षा नभएको लामो समय भयो । त्यो तुवाँलो पनि थुप्रिएको छ । त्यसकारण निर्वाचन प्रभावित हुनेगरी वर्षा, भारी वर्षा वा हिमपात त्यस्तो केही सम्भावना छैन ।

    मतदानको दिन राम्रै मौसम हुने देखिन्छ । निर्वाचनको दिनको हकमा सबैतिरको मौसम सफा नै छ । आजको जस्तै बादल लाग्नेजस्तो बदली हुनसक्छ । त्यस्तो बदली भयो भने आत्तिहाल्नु हुदैन । केही ठाउँमा हावा चल्ने हुनसक्छ । त्यसको लागि बुथहरुमा टेन्टहरु अलि बलियो गरी बाध्ने हुनसक्छ । त्यसबाहेक वर्षा हुने र हिमपात हुने कुनै सम्भावना छैन । मौसम सफा नै रहनेछ ।’

    आउँदो शनिवारसम्मको सौसम सफा नै रहने पौडेलको भनाइ छ ।