सोमवार , चैत्र ९, २०८२
भैरहवा, ९ चैत । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विश्व शान्ति धामको निर्माण कार्य जारी रहेको छ । लुम्बिनीमा निर्माण भइरहेको विश्व शान्ति सार्वभौमिक मन्दिर बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेको पवित्र र प्रकाशमय प्रज्ञा–दशाबाट प्रकट भएको बताइएको छ । हाल भवनको पहिलो तल्लाको छाना निर्माण भइरहेको छ ।
निर्माणाधिन भवनको डिजाइन जर्मनीका प्रसिद्ध आर्किटेक्ट प्रोफेसर स्टेफन ब्राउनफेल्स, जसले बर्लिनमा विश्वकै ठूलो संसद भवन डिजाइन गर्नुभएको छ, र बौद्ध धर्मगुरु श्याल्पा तेन्जिन रिन्पोछेले संयुक्त रुपमा समुल अवधारणासहित बौद्धदर्शन र आधुनिक वास्तुकलामा आधारित डिजाइन तयार गर्नुभएको हो । रिन्पोछेको सुदृष्टि गौतमबुद्धको मार्ग अनुसरण गर्दै एक रुपैयाँ मुठ्ठीदानमार्फत यो ऐतिहासिक शान्ति परियोजना सम्पन्न गर्ने गरी अघि बढिएको हो । सन् २०१४ मा विश्व शान्ति धामको शिलान्यास गरिएको थियो ।
बौद्ध धर्मगुरु तथा लेखक श्याल्पा तेन्जिन रिन्पोछेका अनुसार भवन निर्माण प्रक्रियाका लागि विभिन्न बाधा अड्चनका कारण केही समय लागेको र सन् २०१७ सम्म निर्माण कार्य सुरु गर्न ढिलाइ भएको हो । आवश्यक जमिन प्राप्त भएपछि सन् २०१८ मा एमईभिपि भवन निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । उहाँले सन् २०१९ मा विश्व शान्ति धामको पाइलिङ कार्य सुरु भएको र सम्पूर्ण जग निर्माण सम्पन्न भएको बताउनुभयो । सन् २०२० मा कोभिड महामारीको असरका कारणले निर्माण कार्यमा असर परेको थियो । सन् २०२३ मा पुनः निर्माण कार्य भएको थियो ।
बौद्ध धर्मगुरु रिन्पोछेले लुम्बिनी विश्वभरीका लागि महत्वपूर्ण पवित्र भूमि भएको बताउनुभयो । उहाँले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘लुम्बिनी विकास कोषको जिम्मेवारी यस क्षेत्रको संरक्षण हो, फलस्वरुप सम्पूर्ण नेपालीलाई गर्व गर्ने र विश्वभरका शान्ति र करुणाका पथिकहरुलाई अनुभुति गराउने हो । हामी सहकार्य गर्दै लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन प्रतिबद्ध छौं । आजको विश्वमा शान्तिको आवश्यकता पहिलेभन्दा बढी छ र आउने दिनमा युद्धको त्राहीमान बढ्दै जाँदा शान्तिको अपरिहार्यता र खोज अहिले भन्दा धेरै हुनेछ, ’उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij