२०८२, चैत्र १० गते

Mar 24 2026 | २०८२, चैत्र १० गते

लुम्बिनीमा सरसफाई अध्ययन केन्द्र उद्घाटन : फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियान

मंगलवार , चैत्र १०, २०८२

  • 409
    Shares
  • 409
    Shares
  • लुम्बिनी, १० चैत । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको वडा नम्बर ५ स्थित ढोडहवामा ‘सरसफाई अध्ययन केन्द्र’ को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रलाई सरसफाईमा नमूना बनाउने दिशामा महत्वपूर्ण सुरुवात भएको बताउनुभयो । उहाँले वर्षेनी १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा विगतमा फोहोरका कारण बिग्रिएको छवि अब सकारात्मक रुपमा बदलिने उल्लेख गर्नुभयो । ‘लुम्बिनी परिसर वरिपरि फोहोरका थुप्रा हुने, पर्यटकले नाकमुख छोपेर हिँड्नुपर्ने अवस्था थियो । अब त्यो परिस्थितिको अन्त्य हुँदैछ,’उहाँले भन्नुभयो–‘आज त्यो फोहोरलाई यहाँ ल्याएर मोहरमा परिणत गर्ने उद्देश्यका साथ यो काम अघि बढाइएको छ ।’

    WhatsApp Image 2026-03-24 at 12.00.48 PM (1).jpeg

    मुख्यमन्त्री आचार्यले फोहोर व्यवस्थापन लुम्बिनी साँस्कृतिक नगरपालिकाको मात्र नभइ प्रदेश सरकारको पनि साझा जिम्मेवारी भएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश सरकारले यस्ता योजनाको कार्यान्वयनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यस आयोजनालाई प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्नुभयो ।

    उहाँले ‘ग्रेटर लुम्बिनी’ अवधारणाअन्तर्गत आवश्यक बजेट सुनिश्चित भएको जानकारी दिदै अब योजनाले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । साथै लुम्बिनीलाई हरित सहरका रूपमा विकास गर्न प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने उहाँले बताउनुभयो ।

    लुम्बिनी साँस्कृतिक नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र द कोका–कोला फाउण्डेशनको सहकार्यमा सञ्चालनमा आएको उक्त केन्द्रले फोहोर व्यवस्थापनलाई दिगो विकास र हरित अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ ।

    WhatsApp Image 2026-03-24 at 12.00.48 PM.jpeg

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ता, प्रदेश सभा सदस्य रत्न खत्री, लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, यूएनडीपी नेपाल र द कोका–कोला फाउण्डेशनका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति थियो ।