शनिवार , चैत्र २१, २०८२
भैरहवा, २१ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा बसन्ती कुमारी उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय एकल महिला समूह गठन गरिएको छ । वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा एकल महिला समुह लुम्बिनी प्रदेशको अध्यक्ष अरुणा श्रेष्ठको प्रमुख आतिथ्यतामा बिहीबार एक कार्यक्रमकाबीच भैरहवामा उक्त समुह गठन गरिएको हो । समूहको उपाध्यक्षमा लिलावति कानु बनिया, सचिवमा धन श्रेष्ठ र सह–सचिवमा मीना मोदनवाल, कोषाध्यक्षमा गंगा देवी देवकोटा रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा अर्चना देवी जैसवाल, बेदामी देवी तेलीन, कौशिल्या गुप्ता, गायत्री देवी हलुवाई, नारायणी कोइराला र नारायणी देवी हलुवाई रहनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि अरुणा श्रेष्ठले समाजमा अझै पनि एकल महिलाहरूले विभिन्न किसिमका सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक चुनौतीहरू भोग्नुपरेको उल्लेख गर्नुभयो । उहाँले यस्ता समूहहरूको गठनले उनीहरूको आवाज सशक्त रूपमा उठाउने बताउनुभयो । उहाँले एकल महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम तथा कानूनी सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । ‘एकल महिलालाई समाजमा सम्मानजनक जीवनयापन गर्न सक्षम बनाउनु राज्य र स्थानीय तहको दायित्व हो,’उहाँले भन्नुभयो ।
त्यस्तै वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा कार्यालयले एकल महिलाहरूको पहिचान, उनीहरूको अवस्था अध्ययन तथा आवश्यक सहयोग उपलब्ध गराउने योजना अघि बढाएको बताउनुभयो । उहाँले एकल महिलालाई लक्षित गर्दै आयआर्जन कार्यक्रम, सीप विकास तालिम तथा सामाजिक सुरक्षा योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडास्तरमै संगठन निर्माण गरेर उनीहरूलाई सशक्त बनाउने आफनो प्रमुख उद्देश्य रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ, एकल महिला सिद्धार्थनगरका अध्यक्ष रुपा पुन, जिल्ला सदस्य सलुजा रामदाम लगायतले एकल महिलाको सशक्तिकरणका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँहरूले एकल महिलालाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन गर्दै सम्मान र अवसर सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य किरण देवी सुनारले स्वागत मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रममा दीपेन्द्र मान श्रेष्ठ, भरत सिंह बिजुक्छे, केशव प्रसाद गुप्ता, वडा सदस्य विनित बेरिवाल, विष्णुमाया कुमाल, अरुण घर्ती, निलु शिरीष मगर, सचिव बन्दना उपाध्याय लगायतको सहभागीता थियो ।
नवगठित एकल महिला समूहले आगामी दिनमा एकल महिलाको अधिकार संरक्षण, आर्थिक सशक्तिकरण, सामाजिक न्याय तथा नेतृत्व विकासका क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । साथै समूहले स्थानीय तहसँग सहकार्य गर्दै एकल महिलाका समस्या समाधान र उनीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij