२०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

भार्सेली सेवा समाजको आठौं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

आइतवार , चैत्र २२, २०८२

  • 898
    Shares
  • 898
    Shares
  • तिलोत्तमा, २२ चैत । भार्सेली सेवा समाज तराई क्षेत्र, लुम्बिनी प्रदेश रुपन्देहीको ८ औं वार्षिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम तिलोत्तमाको कुन्जलापुरमा सम्पन्न भएको छ।

    समाजका क्याप्टेन सोम बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष भुजेलले २०८१ देखि अहिलेसम्मको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समाजको आर्थिक हिसाब किताबसहितको आय–व्यय प्रस्तुत गर्दै कोषाध्यक्ष निल प्रसाद रानाले भार्सेलीहरुको सहयोग र समाजसेवाप्रतिको धारणा निकै सकारात्मक रहेको बताउनुभयो।

    कार्यक्रममा प्रमुख अतिथि सत्यवती गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले भार्सेलीहरुको त्याग र समर्पण देशको निर्माण र समृद्ध परिकल्पनामा ठुलो भूमिका रहेको बताउनुभयो । कार्यक्रममा धारणा राख्दै भार्सेलीहरू एकजुट भएर समाज विकासमा लाग्नुपर्ने बताउँदै सत्यवती गाउँपालिकाका कार्यपालिका सदस्य कल्पना पचभैया काउचा, संस्थापक अध्यक्ष लोक बहादुर गुरुङ, निवर्तमान अध्यक्ष मोति प्रसाद राना तथा ९५ वर्षीय ज्येष्ठ नागरिक मानसिंह गुरुङले समाजको विकासका लागि सबै मिल्नुपर्ने बताउनुभयो ।

    उक्त अवसरमा शुभकामना आदानप्रदानका साथै भार्सेबाट आएका साँस्कृतिक नाच, कुन्जलापुरको साँस्कृतिक प्रस्तुति, झाम्रे तथा स्थानीय झुम्रा नाच थारु नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा २५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । त्यस्तै तीनजना सामाजिक बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएका छन् ।

    कार्यक्रमले समाजमा आपसी सद्भाव, एकता र साँस्कृतिक संरक्षणमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ । क्षेत्रीय प्रतिनिधि यमुना बुढाथोकीले स्वागत तथा सचिव पदम श्रीसको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।