२०८३, श्रावण २५ गते

Aug 10 2026 | २०८३, श्रावण २५ गते

एउटा कम्पनीले अर्को कम्पनीको सिलिण्डर फेरबदल गर्न मान्दैन : सांसद देवकोटा

बुधवार , चैत्र २५, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, २५ चैत । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास पाउन नै मुस्किल बन्न थालेको बताउनुभएको छ । 

    राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उहाँले बजारमा धेरै ग्यास कम्पनीहरु भएपनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले ग्यास पाएपनि कम्पनीहरुले अर्को कम्पनीको सिलिण्डर साटासाट गर्न नमानेको बताउनु भयो । केही साटेपनि अतिरिक्त पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुँदा उपभोक्ता थप पीडित भएको उहाँको भनाई छ ।

    ग्यास कम्पनीहरूबीच समन्वय गरी उपभोक्तालाई अतिरिक्त शुल्क बिना सहज रूपमा सिलिण्डर साट्न पाउने व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गर्नुभयो । मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा भएको वृद्धिले नेपालमा महँगी चुलिएको बताउनुभयो । दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारणको भान्सा प्रभावित भएको र न्युन तथा मध्यम आय भएका परिवार प्रत्यक्ष मारमा परेको उहाँको भनाई छ । 

    उहाँले भन्नुभयो, ‘मध्येपूर्वमा भईरहेको युद्धको कारण त्यहाँ रहेका नेपालीहरुको जीवन असुरक्षाप्रति गम्भिर चिन्ता व्यक्त गर्दछु । त्यस क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षा सुनिश्चितताको लागि नेपाल सरकारको ध्यानकर्षण गराउन चाहन्छु । सोही युद्धको कारण पेट्रोलियम पदार्थ र ग्यासको चरम मूल्य वृद्धिले दैनिक उपभोग्य सामाग्रीमा महंगी बढेको कारणले नेपालीको चुल्हो निभ्न लागेको छ, म यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

    बजारमा अहिले धेरै ग्यासका कम्पनीहरु छन्, अहिले पनि ग्यास पाउनको लागी हामीले धेरै कष्ट भोग्नुपरेको छ । एउटा कम्पनीले अर्को कम्पनीको सिलिण्डर फेरबदल गर्न मान्दैन, गरिहाले भने पनि ५ सय रुपैयाँ तिरेर मात्रै ग्यास सिलिण्डर परिवर्तन गर्नुपर्छ । यो हेर्दा सामान्य विषय जस्तो लाग्न सक्छ, तर यो न्युन आय भएका र मध्यम वर्गका परिवारको लागी दैनिक जीवनको अफ्ठ्यारो विषयमध्ये पर्छ । म यी कम्पनीहरुको ग्यासलाई साट्दाखेरी पैसा नलिने गरि फेर्न पाईने सहज अवस्था बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

    उहाँले मध्यपूर्वमा रहेका नेपालीहरूको जीवन जोखिममा परेको उल्लेख गर्दै उनीहरुको सुरक्षाका लागि आवश्यक कुटनीतिक पहललाई गर्न पनि सरकारसंग माग गर्नुभयो ।