२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

लुम्बिनी प्रदेश सभा बैठक : सुशासन कायम गर्न सरकार सफल हुनुपर्नेमा जोड

बुधवार , चैत्र २५, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • दाङ, २५ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आठौं बैठकमा संघीय र प्रदेश सरकारसँग सरोकार राख्ने विषयमा प्रदेश सभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । 

    प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले जनताको अपेक्षा अनुसार सुशासन कायम गर्न सरकार सफल हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई हिरासतमा लिनु गैरकानूनी भएको दावी गर्दै उहाँले बिनाशर्त रिहा गर्न माग गर्नुभयो । जेनजी आन्दोलनपछि प्रदेश सरकार अलमलमा परेको र जाँगर तथा आँट सुस्ताएको जस्तो देखिएको टिप्पणी गर्नुभयो । संघीयतासहितको संविधानप्रति प्रतिबद्धता जनाउँदै प्रदेशलाई स्वायत्त र जीवित संस्थाका रूपमा सुदृढ बनाउनुपर्ने उहाँको धारणा थियो ।

    प्रदेश सभा सदस्य निमा गिरीले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिको सन्दर्भमा प्रदेशको सम्पत्ति जोगाउनेहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संविधानको मर्म र घोषणापत्र अनुसार काम गर्न सुझाव दिँदै द्रुत मात्र होइन, निष्पक्ष कारबाही आवश्यक रहेको बताउनुभयो । कार्की आयोगको प्रतिवेदनमाथि छलफल नै नभइ गृहमन्त्री नियुक्त भएको एक घण्टामै पक्राउ सुरु हुनु प्रतिशोधपूर्ण भएको उहाँको आरोप थियो ।

    प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन संघीय सरकारसँग आग्रह गर्नुभयो । साथै, लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी विकास कोषमा भएका राजनीतिक नियुक्ति खारेज गरी स्थानीयलाई जिम्मेवारी दिनुपर्ने माग राख्नुभयो । 

    प्रदेश सभा सदस्य इन्द्रकुमारी गहतराजले जेनजी आन्दोलनमा घुसपैठका कारण अप्रत्याशित क्षति भएको बताउनुभयो । सरकार जनताप्रति कत्तिको उत्तरदायी छ भन्ने कुरा व्यवहारबाट देखिनुपर्ने उहाँको भनाइ थियो । 

    प्रदेश सभा सदस्य यमबहादुर नेपाली सार्कीले दलित अधिकार विधेयकलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । करिब ७ लाख ३५ हजार नागरिकसँग सम्बन्धित यस विधेयकलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने उहाँको जोड थियो । 

    प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले किसानका लागि मल र बीउको समस्या पटकपटक उठाउँदा पनि समाधान नहुँदा समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपानेले पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीको गिरफ्तारी लोकतान्त्रिक मूल्य, संविधान र नागरिक स्वतन्त्रताको विपक्षमा रहेको टिप्पणी गर्नुभयो ।

    बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उठेका प्रश्नहरुको जवाफ दिदै चालु आर्थिक वर्षमा मन्त्रालय र मातहतका निकायबाट सञ्चालन भइरहेका आयोजनाबारे जानकारी दिनुभयो । प्रदेशका नागरिकले सहज सेवा पाउने गरी सामूहिक भावनाबाट काम अघि बढाइने उहाँको भनाइ थियो ।

    यसैबीच अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो । सातौं अधिवेशनको नवौं बैठक चैत २६ गते दिउँसो ११ बजे बस्ने जानकारी गराइएको छ । चैत २२ गतेबाट सुरु भएको अधिवेशनका बैठकहरु निरन्तर रुपमा सञ्चालन हुँदै आएका छन् ।