२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

निजी क्षेत्रलाई आश्वासन र प्रतिवद्धता होइन, काम गर्ने वातावरण चाहिन्छ : सांसद दुलाल

बिहिवार , चैत्र २६, २०८२

  • 325
    Shares
  • 325
    Shares
  • काठमाडौं, २६ चैत । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले निजी क्षेत्रलाई केवल आश्वासन र प्रतिवद्धता मात्र नभई काम गर्ने ठोस वातावरण आवश्यक रहेको बताउनुभएको छ ।

    निजी क्षेत्रद्वारा आयोजित एक कार्यक्रममा बोल्दै सांसद दुलालले देशको समृद्धिका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताउनुभएको हो । उहाँले आगामी बजेटमा उनीहरूलाई कसरी प्रोत्साहन गर्ने भन्ने विषय केन्द्र भागमा हुनुपर्नेमा जोड दिनुभयो । सांसद दुलालले उद्योगी र व्यवसायीहरूका लागि मुख्य कुरा नीतिगत स्थायित्व भएको उल्लेख गर्नुभयो ।

    वातावरण निर्माणको अर्थ स्पष्ट पार्दै उहाँले अर्थतन्त्रको आकार वृद्धि गर्न, उत्पादन बढाउन, करको दायरा विस्तार गर्न र आयातलाई निरुत्साहित गर्न राज्यले केन्द्रमा रहेर सोच्नुपर्ने बताउनु भयो । आन्तरिक उत्पादन र स्वदेशी उद्यमीहरूलाई प्रोत्साहन गर्नु नै राज्यको मुख्य दायित्व हुने उहाँको भनाइ छ ।

    निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूप्रति आफ्नो सहानुभुति रहेको बताउँदै उहाँले भू–राजनीतिक अवस्थाका कारण सिर्जित अप्ठ्याराहरूबारे आफू जानकार रहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘अहिले सरकारले नीति तथा कार्यक्रमको ड्राफ्टिङ गर्दैछ । इतिहासमै पहिलो पटक जनताले देश बनाउनका लागि स्पष्ट जनमत दिएका छन् । यो अवसरलाई सदुपयोग गर्दै सरकारले देश निर्माणमा लाग्नुपर्छ । हामीलाई आश्वासन होइन, वातावरण चाहिएको हो ।

    तत्कालै गर्न सकिने सुधारहरू र दीर्घकालीन रूपमा राज्यको प्रतिवद्धता नै आजको आवश्यकता हो । तपाईंहरूका पीडा र चुनौतीहरू हाम्रो पनि साझा बुझाइ हो । उद्योग धन्दा किन फस्टाउन सकेका छैनन् भन्नेकुरामा हामी गम्भीर छौँ ।’ 

    सांसद दुलालले निजी क्षेत्रले उठाएका मागहरू सही रहेको र ती सवालहरूलाई संसदमा प्रभावकारी ढंगले उठाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    कानून निर्माण र संशोधनको समयमा निजी क्षेत्रको हितमा आवाज उठाउने र उनीहरूलाई हौसला प्रदान गर्ने उहाँले बताउनु भयो । देश निर्माणका लागि निजी क्षेत्रको प्रोत्साहनसँगै सार्वजनिक क्षेत्रको सुदृढीकरण र समग्र क्षेत्रको सबलीकरणबाट मात्रै अगाडि बढ्न सकिने बताउनु भयो ।