२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

लुम्बिनी प्रदेश सभाबाट अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक पारित

शुक्रवार , चैत्र २७, २०८२

  • 868
    Shares
  • 868
    Shares
  • दाङ, २७ चैत । लुम्बिनी प्रदेश सभाको शुक्रबार (आज) बसेको बैठकले एक विधेयक पारित गरेको छ भने अन्य एउटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।

    सातौं अधिवेशनको १० औं बैठकले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मत रुपमा पारित गरेको हो । 

    बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यकोतर्फबाट भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले विधेयक छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयकको उद्देश्यबारे जानकारी दिदै सर्वसम्मत रुपमा पारित भएको घोषणा गर्नुभएको हो । प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी, सरकारी निकाय तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारीलाई प्रशिक्षण प्रदान गर्ने तथा संघीयता, सुशासन र विकास व्यवस्थापनसँग सम्बन्धित अनुसन्धानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

    त्यसै गरी दिउँसो बसेको ११ औं बैठकले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पुनः छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने निर्णय गरेको छ । उक्त प्रस्ताव पनि मन्त्री ढकालले नै प्रस्तुत गर्नुभएको थियो ।

    १० औं बैठकमा प्रदेश सभा सदस्यहरू तुलसीप्रसाद चौधरी, खड्ग बस्नेत, इन्द्रजीत थारु, रामजी घिमिरे, माया पुन, जानकी न्यौपाने, चन्द्रकेश गुप्ता, मिना बुढा, सुधाकर पाण्डे, अम्बिका काफ्ले र वसिउद्दिन खाँले समसामयिक विषयमा धारणा राख्नुभएको थियो । 

    बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरी र उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

    त्यस्तै ११ औं बैठकमा प्रदेश सभा सदस्य निमा गिरी र निलम पास्वानले सम्बोधन गर्नुभएको थियो । बैठकले ‘वन ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि कृषि, वन तथा वातावरण समितिमा पठाउने निर्णय गरेको छ । उक्त प्रस्ताव वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले प्रस्तुत गर्नुभएको थियो । 

    प्रदेश सभाको सातौं अधिवेसनको १२ औं बैठक वैशाख ६ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ ।