२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

सांसद् अग्रवालको आग्रह : प्रशंसा होइन, प्रश्न गरिदिनुस्

आइतवार , चैत्र २९, २०८२

  • 439
    Shares
  • 439
    Shares
  • भैरहवा, २९ चैत । प्रतिनिधि सभा सदस्य पुनम कुमारी अग्रवालले देश एकदमै विषम परिस्थितिमा भएको बताउनुभएको छ । उहाँले एकैपटक जादु जस्तै सुशासन ल्याउन नसकिए पनि वर्तमान नागरिक सरकार सुशासन ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो ।

    शनिबार रुपन्देहीको भैरहवामा आयोजित आस्था महिला उद्यमी संघ सिद्धार्थनगर, रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै सांसद् अग्रवालले यस्तो बताउनुभएको छ । सरकार भ्रष्टाचारविरुद्ध शुुन्य सहनशीलताको नीति अपनाएर अगाडि बढेको उहाँले बताउनुभयो । उहाँले एकैपटक सम्पूर्ण नतिजा प्राप्त गर्न सम्भव नहुने भएकाले धैर्य राख्न सबैलाई आग्रह गर्नुभयो ।

    उहाँले महिलाको संघर्ष घरदेखि नै सुरु हुने बताउनुभयो । आत्मविश्वास तथा परिवारको साथ र सहयोगले सोचेभन्दा बढी काम गर्न सकिने उहाँको भनाइ छ । महिलाको स्वाभिमान बचाउन आस्था उद्यमी महिला संघ, रुपन्देहीले एउटा ईट्टा थपेको भन्दै उहाँले संस्थालाई धन्यवाद दिनुभयो । आफू पनि एउटा महिला उद्यमी भएको उहाँले बताउनुभयो । ‘यो संस्थाले गरेको काममा अझ हौसला र प्रेरणा प्रदान गर्न व्यक्तिगत रुपमा र सरकारकोतर्फबाट सहयोग गर्न तयार छौं, ’उहाँले भन्नुभयो ।

    सांसद् अग्रवालले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो । महिला, नेपाली र उद्यमी हुनुमा गर्व गर्नुपर्ने उहाँले बताउनुभयो । हिजो प्रश्न गरे पनि जनताको विश्वासले अब आफू जवाफ दिने ठाउँमा पुगेको सांसद् अग्रवालले बताउनुभयो । ‘हामी आफ्नो कर्तव्यप्रति जिम्मेवार छौं, ’परिणाममुखी काम गर्नतर्फ केन्द्रीत छौं, मेरो प्रशंसा गर्नुको सट्टा प्रश्न गर्नुहोस् भन्ने अनुरोध गर्दछु, ’उहाँले भन्नुभयो । 

    कार्यक्रममा आस्था महिला उद्यमी संघ सिद्धार्थनगर, रुपन्देहीको अध्यक्ष मिनिता थापा, महासचिव पवि खनाल, चेम्बर अफ कमर्श, रुपन्देहीको अध्यक्ष सचिन रोक्का, निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठ, पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारी, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।