२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

होटल पौवाले मनायो १० औं वार्षिकोत्सव

आइतवार , चैत्र २९, २०८२

  • 871
    Shares
  • 871
    Shares
  • भैरहवा, २९ चैत । होटल पौवाले देशैभरीका शाखामा स्वाद उत्सव तथा रुपन्देहीको भैरहवामा ‘पौवा लगानी सम्मेलन २०८२’ सहित विभिन्न कार्यक्रम गरी आफ्नो १० औं स्थापना दिवस (वार्षिकोत्सव) मनाएको छ । 

    पौवाले नेपाली रैथाने स्वाद र विशेष अतिथि सत्कारसहित चैत २६ देखि २८ गतेसम्म (तीन दिन) स्वाद उत्सव सञ्चालन गरेको थियो । स्वाद उत्सवको पूर्वसन्ध्यामा चैत २५ गते होटलले भैरहवामा र्यालीसहित नगर परिक्रमा तथा रक्तदान कार्यक्रम पनि गरेको थियो । 

    पौवाले आफ्ना २५० भन्दा बढी लगानीकर्ताको सहभागीतामा भैरहवा शाखामा ‘मिसन १००’ को अवधारणाअनुरुप लगानी सम्मेलन गरेको हो ।

    पौवा समूहका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले लगानी सम्मेलनमा एक दशकसम्म प्राप्त अनुभव र सफलतालाई आधार मान्दै शताब्दी चुम्ने लगानीको विस्तार गर्दै पौवाको नयाँ शाखा विस्तारको गन्तव्यको खोजी गर्ने निर्णय भएको बताउनुभयो । पौवाका सवै शाखामा गरेर १ हजार भन्दा धेरै कर्मचारी कार्यरत रहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ‘मिसन १००’ अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संशाधन विकास र नेपाली हस्पिटालिटी ब्राण्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको स्तरमा कसरी लैजाने ? भन्ने विषयमा पनि सम्मेलन केन्द्रित थियो । 

    होटल पौवा भैरहवा शाखाका महाप्रबन्धक निशान्त खरेलले छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै पौवाले हाल देशका विभिन्न स्थानमा २० वटा शाखामार्फत पौवाले सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो।

    शनिबार आयोजित १० वार्षिककोत्सवको समापन कार्यक्रममा पौवाले आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको छ । लामो समयदेखि संस्थामा समर्पित भएर काम गर्दै आएका कर्मचारीहरूले पौवालाई आफ्नै संस्थाको रूपमा मानेर सेवा प्रदान गरेकाले उनीहरूको योगदानको कदरस्वरूप पौवाले सम्मान गरेको हो । पौवाले विभिन्न विधामा उत्कृष्ट सेवा प्रदान गर्ने १७ वटा शाखाका २५ कर्मचारीलाई भैरहवामा सम्मान गरिएको जनाएको छ ।

    होटल पौवाका कर्मचारी सुवास ज्ञवालीले विभिन्न आरोह अवरोह पार गरी यहाँसम्म आइपुगेको बताउनुभयो ।
    पौवा समूहका उपाध्यक्ष ध्रुव न्यौपानेले पौवा व्यवसायिक संस्थाको रुपमा मात्र नभइ सामाजिक कामहरु पनि गर्दै आएको बताउनुभयो । स्वाद उत्सवमा झण्डै ८७ हजार जना बढीलाई स्वाद चखाउन सफल भएको बताउनुभयो । उहाँले स्वाद उत्सवमा आउनुभएकाहरुबाट धेरै सुझाव पनि प्राप्त भएको बताउनुभयो ।

    १० वर्षअघि रुपन्देहीको सालझण्डीस्थित सानो घरको सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ ।