सोमवार , चैत्र ३०, २०८२
दाङ, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै संविधानले दिएको अधिकार भन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गर्नुभएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको तुलसीपुरमा सोमवार भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त भएको स्पष्ट पार्नुभयो । उहाँले संघीय सरकारले दिशानिर्देशन दिन सक्ने भए पनि ठाडो निर्देशन दिन नमिल्ने बताउनुभयो ।
‘संविधानले निर्दिष्ट गरेका हकअधिकार कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गरेर अघि बढ्न हामी तयार छौं । तर, त्यसभन्दा बाहिर गएर निर्देशन दिने कार्य उपयुक्त हुँदैन,’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री आचार्यले भदौपछि विभिन्न खालका निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसप्रति संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले संघीय सरकारले सञ्चार क्षेत्रप्रति गरेको व्यवहारप्रति पनि प्रदेश सरकार गम्भीर रहेको बताउँदै त्यस्ता निर्णय अविलम्ब सच्याउन माग गर्नुभयो ।
उहाँले तीनै तहका सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । समाजलाई सुमार्गतर्फ लैजानुपर्नेमा उल्टै कुमार्गतर्फ लैजान खोजिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘यदी समयमै सचेत हुन सकिएन भने भविष्यमा मुलुकले दुर्घटना व्यहोर्नुपर्ने अवस्था आउन सक्छ,’उहाँले चेतावनी भन्नुभयो ।
राष्ट्रियताको सवाललाई कमजोर पार्न नहुने उल्लेख गर्दै उहाँले पुर्खाले आर्जेको मुलुकको भविष्यप्रति सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गर्दै विगत ३४ वर्षमा नगरको विकासमा योगदान पुर्याउने अग्रज तथा सामाजिक अभियन्ताहरुप्रति सम्मान व्यक्त गर्नुभयो ।
उहाँले तुलसीपुरको विकास अग्रजहरुको योगदानका कारण सम्भव भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । संघीयता कार्यान्वयनपछि विकासको गति अझ तीव्र भएको उल्लेख गर्दै पछिल्लो ७–८ वर्षको उपलब्धिको समग्र मूल्यांकन आवश्यक रहेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमल सुवेदी, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका प्रमुख तथा नगरबासीको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij