२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

अदृश्य युद्धको जीवित शहीद: बा–आमाको झगडा र एउटा रित्तो सन्तान

मंगलवार , बैशाख १, २०८३

  • 685
    Shares
  • 685
    Shares
  • जब घरको दैलोभित्र छिर्दा शान्तिको सास फेर्नुको साटो कसको मुड कस्तो छ ? आज फेरि के निहुँमा आँधी आउने हो ? भनेर अनुहार पढ्नुपर्ने हुन्छ, तब त्यो घर ‘घर’ रहँदैन, एउटा मनोवैज्ञानिक युद्धमैदान बन्न पुग्छ । हरेकपटक चर्को स्वर सुनिँदा मुटुको धड्कन असामान्य हुनु र कोठाको ढोका थुनेर कान थुन्नुपर्ने बाध्यताले एउटा युवाको आत्मसम्मानलाई भित्रभित्रै खियाइरहेको हुन्छ ।

    त्यो बच्चाले बाहिरको संसारसँग लड्न सिक्नुपर्ने बेलामा, ऊ आफ्नै घरभित्र जोगिन सिकिरहेको हुन्छ । ढोकाको आवाज, प्लेट ठोक्किएको आवाज वा कसैको चर्को स्वरले उसको मुटु एक्कासी जोडले धड्किन थाल्छ । उसले आफ्नो कान थुन्छ, ढोका लगाउँछ, आफूलाई लुकाउँछ, मानौँ ऊ कुनै युद्ध मैदानमा छ ।

    जब समाज वा परिवारले सोध्छन्–‘तिमीहरु किन सँगै बसेर खाना खाँदैनौ’ तब त्यो प्रश्नले एउटा सन्तानको मुटुमा सिसाले काटे जस्तो चोट पुर्याउँछ । कसैले यो बुझ्दैनन् कि सँगै बसेर खाना खानका लागि टेबलमा शान्ति र मनमा अपनत्व चाहिन्छ । जहाँ हरेक गाँससँगै कुनै न कुनै तिखो शब्द वा अपमान मिसिएर आउँछ, त्यहाँ सन्तानले कसरी सँगै बसेर खाना निल्न सक्छ ? त्यो डर कुनै भौतिक कुटपिटको मात्र होइन, त्यो त वर्षौंदेखि सुन्दै आएको मानसिक दबाब र घरको भारी वातावरणको पराकम्प हो ।

    अझ दुःखद कुरा के छ भने, त्यो बच्चा कहिल्यै खुल्न सक्दैन । उसले आफ्नो पीडा कसैलाई भन्न सक्दैन । किनकी उसलाई लाग्छ ‘यो त हाम्रो घरको कुरा हो ।’

    अझ हृदयविदारक अवस्था त तब आउँछ, जब सन्तान बिरामी पर्छ । बिरामी हुनु कसैको हातमा हुँदैन । तर, एउटा घरको अशान्ति यति क्रूर हुन्छ कि त्यहाँ सन्तानको बिरामीपनलाई पनि झगडाको हतियार बनाइन्छ । ‘तैले गर्दा यस्तो भयो,’ ‘तँ आमा भएर केही गर्न सकिनस्,’ शब्दहरू केवल एक–अर्कालाई होइन, त्यो बिरामी बच्चालाई सिधै घोचिरहेका हुन्छन्, ।

    त्यो बच्चाले आफैलाई दोष दिन थाल्छ । उसलाई लाग्छ ‘म नै समस्या हुँ ।’ उसको अस्तित्व नै बोझ जस्तो लाग्न थाल्छ । ‘म नभएको भए सायद सबै ठीक हुन्थ्यो होला,’ ‘मेरो कारणले नै घर बिग्रिएको हो’ । यी सोचहरूले उसको आत्मालाई बिस्तारै मार्न थाल्छ । यो कुनै सामान्य सोच होइन, यो आत्मघाती सोचको सुरुवात हो । एउटा २०–२२ वर्षको युवा, जसले आफ्नो जीवन निर्माण गर्नुपर्ने थियो, ऊ आफ्नै अस्तित्वसँग लडिरहेको हुन्छ । 
    कसैले सोच्छ ‘हामी त झगडा गर्छौं । तर, बच्चालाई के फरक पर्छ ?’ फरक पर्छ । धेरै फरक पर्छ । त्यो बच्चा चुप लागेर बस्छ भने पनि उसले हरेक शब्द, हरेक नजर, हरेक चिच्याहट महसुस गरिरहेको हुन्छ । ऊ विस्तारै संवेदनशील बन्छ, डरपोक बन्छ, आत्मविश्वास हराउँछ । उसलाई प्रेममा विश्वास रहँदैन, सम्बन्धमा भरोसा रहँदैन र जीवनप्रति आशा हराउँदै जान सक्छ ।

    बा–आमाले बुझनुपर्छ–सन्तानलाई महंगो कलेज, ब्राण्डेड लुगा र मीठो खानाले मात्र मान्छे बनाउँदैन । एउटा सन्तानलाई ‘मान्छे’ बन्नका लागि सबैभन्दा पहिले घरभित्र ’सुरक्षित’ महसुस हुनुपर्छ ।

    यदि तपाईंको घरमा शान्ति छैन भने, तपाईंको सन्तानले बाहिर जतिसुकै प्रगति गरे पनि, उसको भित्र एउटा रित्तोपन सधैँ रहिरहनेछ । उसले कहिल्यै प्रेममा विश्वास गर्न सक्ने छैन, किनकी उसले प्रेमको नाममा केवल कलह र स्वार्थ देखेको छ ।

    तपाईंका शब्दहरू सोचेर बोल्नुहोस्, किनकी तपाईंको एक मिनेटको इगोले तपाईंको सन्तानको पूरै जीवनभरीको आत्मविश्वासलाई खरानी बनाइदिन सक्छ । छोराछोरीहरू कहिलेकाहीँ रोएनन् भन्दैमा उनीहरू ठीक छन् भन्ने हुँदैन, कतिपय बच्चाहरू नरोइकनै भित्रभित्रै टुटिसकेका हुन्छन् ।