शुक्रवार , बैशाख ४, २०८३
दाङ, ४ वैशाख । लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठकले युवामुखी नीति तथा कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ ।
बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ भित्रै युवालाई लक्षित गर्दै सामग्री सर्जकहरूबीच (कन्टेन्ट क्रियटर) बीच खुला प्रतिष्पर्धा आयोजना गर्ने निर्णय गरेको छ । उक्त प्रतिष्पर्धाबाट उत्कृष्ट सामग्री सर्जकलाई छनोट गरी ‘उत्कृष्ट सामग्री पुरस्कार’ प्रदान गरिनेछ ।
युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बिहीबार बसेको बैठकमा युवासम्बन्धी नीति तथा कार्यक्रममाथि छलफल गरिएको हो । मन्त्री पाण्डेयले प्रदेशका युवामा सकारात्मक सोच, सिर्जनशीलता र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको बताउनुभयो ।
यसैबीच प्रदेश युवा परिषद् विकास समिति लुम्बिनीमा नयाँ सदस्यहरू नियुक्त गरिएको छ । मन्त्रालयले पंकज पाठक र मनिषा हरिजनलाई परिषद्को सदस्य पदमा नियुक्त गरेको जनाएको छ । प्रदेश युवा परिषद् विकास समिति (गठन) आदेश, २०७८ अनुसार उनीहरूलाई तोकिएको पदावधिका लागि सदस्यमा नियुक्त गरिएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij