आइतवार , बैशाख ६, २०८३
बुटवल, ६ वैशाख । । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष २०८३ को अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा बोल्दै इक्यान केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेलले परामर्शको क्षेत्रमा युवाहरुको सहभागीता बढ्दै गएकोप्रति खुसी व्यक्त गर्नुभयो । यो व्यवसायलाई थप मर्यादित र व्यवस्थित गराउन इक्यान नेतृत्व र सबै सदस्यहरु एक भएर अघि बढ्नुपर्ने बताउँदै उहाँले राम्रो कामलाई सम्मान र गलत गर्नेलाई कारवाही गरिने स्पष्ट पार्नुभयो । व्यवसायीहरुको अधिकार र सुरक्षाका लागि राज्यले गर्नुपर्ने नीतिगत सुधारका लागि दबाब सिर्जना गर्न आफू सधै तयार रहेको उहाँले बताउनुभयो ।
त्यसै गरी केन्द्रीय प्रथम उपाध्यक्ष बासुदेव दाहालले परामर्श केन्द्रहरुलाई नियमन गर्नका लागि सरकारको स्पष्ट नीति नहुँदा व्यवसायीहरुले दुःख पाउनुपरेको गुनासो गर्नुभयो । विशेष गरी लुम्बिनी प्रदेशमा सरकारले आवश्यक कार्यविधि बनाउन नसक्नुका साथै परामर्श केन्द्रहरुलाई अनुमति तथा दर्ता प्रक्रियामा लैजान नसक्नु राज्यको कमजोरी भएको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेशबाहेक सबै प्रदेशहरुमा दर्ताका लागि कार्यविधि तयार गरी कार्यान्वयन भएको बताउँदै उहाँले यहाँ पनि लागू गर्नका लागि दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै इक्यान रुपन्देहीका सल्लाहकार गोविन्दराज अधिकारी, निशान बाबु कार्की लगायतले नयाँ वर्षसँगै व्यवसायिक सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा इक्यानले प्रकाशन गरेको वर्ष २०८३ को क्यालेण्डर समेत विमोचन गरिएको थियो ।
इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता, उपाध्यक्ष दिपेश अर्यालको सञ्चालन तथा कोषाध्यक्ष राम खरेलको सञ्चालनमा सम्पन्न भएको थियो । इक्यान रुपन्देहीका सचिव उपेन्द्र यादवले समेत कार्यक्रममा भनाइ राख्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij