२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

सिद्धार्थनगरको डण्डा खोलामा फोहोर नफाल्न सर्वोच्चको अन्तरिम आदेश

आइतवार , बैशाख ६, २०८३

  • 334
    Shares
  • 334
    Shares
  • भैरहवा, ६ वैशाख । सर्वोच्च अदालतले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ अन्तर्गत डण्डा खोला क्षेत्रमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले शुक्रबार उक्त आदेश दिएको हो । उक्त क्षेत्रमा अनियन्त्रित डम्पिङ साइटका कारण दुर्गन्ध र प्रदूषण फैलिएको भन्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अन्जली सिलवालले चैत १६ गते रिट दायर गरेका गर्नुभएको थियो । उहाँहरूले प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालय र सिद्धार्थनगर नगरपालिकालाई विपक्षी बनाउनुभएको थियो ।

    यसअघि प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरिएको थियो । पछि भएको छलफलपछि सर्वोच्चले अन्ततः फोहोर नफाल्न र साइट सञ्चालन नगर्न अन्तरिम आदेश दिएको हो ।

    निवेदकहरूले अन्तिम निर्णय नहुँदासम्म फोहोर व्यवस्थापन रोक्न, वैकल्पिक स्थान खोज्न र प्रदूषण नियन्त्रण गर्न पनि माग गरेका थिए ।

    danda khola.jpg

    प्रदूषणले स्थानीय बासिन्दालाई निकै समस्या भएको र त्यो क्षेत्र भारतबाट गौतमबुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने बाटोमै पर्ने भएकोले आगन्तुक पर्यटकको जीवनसमेत कष्टकर बनेको रिट निवेदनमा उल्लेख गरिएको थियो ।