सोमवार , बैशाख ७, २०८३
भैरहवा, ७ वैशाख । ट्रक व्यवसायीले विभिन्न चारबुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् । व्यवसायी पंकज राईको नेतृत्वमा सोमबार सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई ज्ञापनपत्र बुझाइएको हो ।
नेपालमा डिजेलको मूल्यलाई प्रतिष्पर्धात्मक बनाउने गरी यथाशिघ्र समायोजन गरिनुपर्ने, भारतीय सवारीसाधनहरूको अनियन्त्रित आवागमन तथा ढुवानी गतिविधिमा प्रभावकारी नियमन हुनुपर्ने, ओभरलोड नियन्त्रणसम्बन्धी विद्यमान कानूनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन गरिनुपर्ने तथा स्वदेशी ढुवानी व्यवसायको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था गरिनुपर्ने व्यवसायीको माग छ ।
भारतीय सवारीसाधनसँगको असमान प्रतिष्पर्धा तथा डिजेल मूल्य अन्तरसम्बन्धी समस्या समाधानका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको व्यवसायी पंकज राईले बताउनुभयो । वर्तमान समयमा नेपाल र भारतबीचको डिजेल मूल्यमा रहेको भारी अन्तरका कारण नेपाली ढुवानी व्यवसाय गम्भीर रूपमा प्रभावित भएको उहाँले बताउनुभयो ।
‘नेपालमा डिजेलको मूल्य भारतको तुलनामा उच्च रहेको परिप्रेक्ष्यमा भारतीय सवारीसाधनहरूले सस्तो इन्धनको प्रयोग गर्दै नेपालका विभिन्न भौगोलिक क्षेत्रमा प्रवेश गरी सामान ढुवानी गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको छ । यस अवस्थाले नेपाली सवारीसाधनहरूलाई प्रतिष्पर्धात्मक रूपमा कमजोर बनाउँदै व्यवसाय सञ्चालन नै कठिन बनाएको छ, ’उहाँले बताउनुभयो ।
त्यसै गरी भारतीय सवारीसाधनहरूले प्रचलित मापदण्डविपरीत ओभरलोड गरी सञ्चालन गर्ने गरेको गुनासो समेत व्यापक रूपमा प्राप्त भएको उहाँले बताउनुभयो । ‘यसप्रकारको गतिविधिले बजारमा अस्वस्थ प्रतिष्पर्धा सिर्जना गर्नुका साथै सडक संरचनामा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ । भन्सार नाकाहरूमा उपलब्ध अभिलेख (रेकर्ड) बाट नेपाली तथा भारतीय सवारीसाधनहरूको आवागमन सम्बन्धी तथ्यांक स्पष्ट रूपमा अवलोकन गर्न सकिने अवस्था रहेको छ,’राईले भन्नुभयो ।
नेपाली ट्रक व्यवसायी व्यवसाय सञ्चालन गर्न असमर्थ हुँदै गइरहेको र निकट भविष्यमा व्यवसाय नै छोड्नुपर्ने अवस्था सिर्जना हुने गम्भीर चिन्ता उत्पन्न भएको उहाँको भनाइ छ ।
ट्रक व्यवसायी टेक बहादुर रोका मगरले नेपालमा इन्धनको मूल्यवृद्धि भएका कारण भारतीय सवारीसाधनसँग प्रतिष्पर्धा गर्न नसकिएको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij