२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न

शुक्रवार , बैशाख ११, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • रुपन्देही, ११ वैशाख । नेपाल उद्यान महासंघले अन्तरक्रिया, पदस्थापना कार्यक्रम तथा आफ्नो बैठक बिहीबार रुपन्देहीको बुटवलमा सम्पन्न गरेको छ । नेपालमा रहेका विविध थरिका उद्यानहरुका आ–आफ्ना विशेषता, समस्या र चुनौतीहरु रहेको अन्तरक्रियाका सहभागीहरुले बताए । 

    सोही अवसरमा सहभागीहरुले उद्यानहरुको विधिसम्मत सञ्चालन, व्यवस्थापन गरी वर्तमानमा देखिएका समस्या र चुनौतीहरुलाई समाधान गर्नुपर्नेमा जोड दिए । त्यसका लागि तीनै तहका सरकारहरुसँग समन्वय, सहकार्य र सहयात्राका लागि उद्यान ऐन, कानून, कार्यविधि निर्माणमा सरकारलाई सहयोग गर्नुपर्ने बताए । 

    NPF 2083.jpg

    सोही कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश पर्यटन विकास परिषदका सदस्य माधव प्रसाद नेपालले राज्यलाई राजस्व बुझाउने संस्थाहरु नै उद्यानहरु भएता पनि यसको सञ्चालन र व्यवस्थापनका लागि तीनै तहका सरकारले उद्यान सञ्चालन र व्यवस्थापनसम्बन्धि कुनै पनि ऐन, कानून र कार्यविधिहरु निर्माण नगरेका बताउनुभयो । यसले गर्दा  उद्यानहरु मर्कामा परेको उल्लेख गर्दै भविष्यमा उद्यानहरुलाई नमूना बनाइ पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले महासंघको प्रथम महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पदस्थापना गराउनुभएको थियो । 

    महासंघलाई गतिशील र प्रभावकारी रुपमा सञ्चालन गर्न बैठकले आर्थिक वर्ष २०८२/०८३ र २०८३/०८४ का लागि द्विवार्षिक कार्ययोजना तयार गरेको छ । सोही कार्ययोजनालाई सम्पन्न गर्नका लागि कार्यविभाजन गरी जिम्मेवारी तोकेको छ । नेपाल उद्यान महासंघको सातवटै प्रदेशमा प्रदेशस्तरीय महासंघ गठन गर्नका लागि कोशी प्रदेशबाट लक्ष्मीप्रसाद खनाल, मधेश प्रदेशबाट चेतबहादुर खड्का, बाग्मती प्रदेशबाट ईन्द्रप्रसाद नेपाल, गण्डकी प्रदेशबाट सागर देवकोटा, लुम्बिनी प्रदेशबाट विष्णुराम आचार्य, कर्णाली प्रदेशबाट इन्द्रा चालिसे र सुदूरपश्चिम प्रदेशबाट हरिलाल सापकोटालाई संयोजक तोकेको छ ।  साथै उपत्यकाभित्र रहेका उद्यानहरुलाई संगठित रुपमा परिचालन गर्नका लागि हिमाल श्रेष्ठलाई संयोजक तोक्ने बैठकले निर्णय गरेको छ । 

    संयोजकहरुले आगामी मंसिर महिनाभित्र प्रदेश र उपत्यका विशेष महासंघ गठन गर्नुपर्ने छ । त्यसै गरी केही जिल्लाहरुको संयोजक समेत बैठकले तोकि जिल्लास्तरीय उद्यान संघ गठनका लागि असार समान्तसम्मको समयसीमा राखेको छ । 

    बैठकले डोरमणि पौडेल, काशीनाथ दाहाल, माधवप्रसाद नेपाल, डीआर घिमिरे, केशवराज न्यौपाने, युवराज घिमिरे,अनन्तराज सिलवाल, सुमन थापामगर, हेमबहादुर बम र प्रेस सल्लाहकारमा फोटोपत्रकार मनिराम पन्थ (मनीष)लाई मनोनित गरेको छ । 

    बैठकले महासंघका उपाध्यक्ष रघुनाथ खुलाललाई प्रदेशस्तरीय महासंघ गठन र केन्द्र एवं प्रदेश सरकार, सरोकारवाला निकायहरुसँग समन्वय, सहकार्यका लागि संयोजन गर्ने जिम्मा दिएको छ । 

    महासंघका अर्का उपाध्यक्ष दलबहादुर गुरुङलाई संस्थागत विकास र सशक्तिकरणको पाटोलाई हेर्ने गरी संयोजकको जिम्मा दिएको छ । महाधिवेशनको समीक्षा गर्दै उक्त महाधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने सरकारी तथा गैरसरकारी  निकायहरु, सरोकारवाला संघ–संस्थाहरु, ‘उद्यान दर्पण’ प्रकाशनका लागि सामग्री उपलब्ध गराउनुहुने सबै लेखकहरु, सम्पादन मण्डल, शुभकामना तथा विज्ञापनदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । 

    त्यसै गरी संस्थालाई आवश्यक पर्ने विभिन्न खालका नियमावलीहरु निर्माणका लागि सल्लाहकारहरु युवराज घिमिरे र अनन्तराज सिलवाललाई बैठकले जिम्मा दिएको छ । नेपाल उद्यान महासंघका महासचिव बेलप्रसाद शर्माको सञ्चालन, उपाध्यक्ष रघुनाथ खुलालको स्वागत, उपाध्यक्ष दलबहादुर गुरुङको धन्यवाद तथा अध्यक्ष खेमप्रसाद लुंइटेलको अध्यक्षतामा उक्त कार्यक्रम र बैठक सम्पन्न भएको थियो ।