२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा झण्डै ९ लाखको अवैध सामान बरामद

शुक्रवार , बैशाख ११, २०८३

  • 295
    Shares
  • 295
    Shares
  • भैरहवा, ११ वैशाख । रुपन्देहीमा सशस्त्र प्रहरीले दुई दिनमा झण्डै ९ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीबाट खटिएको टोलीले वैशाख ९ र १० गते जिल्लाका विभिन्न स्थानबाट अन्दाजी मूल्य ८ लाख ७७ हजार ३ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

    सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा गणका सूचना अधिकारी दुर्गा बहादुर थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–२ स्थित केउटलिया इलाकामा भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको २ लाख ५७ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको छ । बरामद गरिएको उक्त लत्ताकपडा आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवाबाट ५० हजार रुपैयाँ बराबरको चार कार्टुन विभिन्न किसिमका फूलहरु बरामद गरिएको उहाँले बताउनुभयो । बरामद गरिएको फूल प्लान्ट क्वारेन्टाईन कार्यालय बेलहियाका प्रतिनिधिको रोहबरमा गण परिसरभित्र खाडलमा पुरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

    त्यसै गरी सियारी गाउँपालिका–२ मा टीनको टहरा मुनी राखिएको ४ लाख ४० हजार बराबरको २ सय क्यारेट केरा र ढुवानीमा प्रयोग भएको लु ३ प ८४४६ नम्बरको मोटरसाइकलको मूल्य १ लाख गरी ५ लाख ४० हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय बेलहियाका प्रतिनिधिको रोहबरमा गण परिसरभित्र खाडलमा पुरी केरा नष्ट गरिएको तथा मोटरसाइकल आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

    त्यस्तै सिद्धार्थनगर–२ स्थित केउटलियामा भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको ३० हजार रुपैयाँ बराबरको २ कार्टुन विभिन्न किसिमका फूलहरु बरामद गरिएको डीएसपी थापाले जानकारी दिनुभयो । बरामद गरिएका फूल प्लान्ट क्वारेन्टाईन कार्यालय बेलहियाका प्रतिनिधिको रोहबरमा गण परिसरभित्र खाडलमा पुरी नष्ट गरिएको उहाँले बताउनुभयो ।