शुक्रवार , बैशाख १८, २०८३
बुटवल, १८ वैशाख । सामूहिक लगानीमार्फत आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित स्थापित भिजन लुम्बिनी लिमिटेडद्वारा प्रबद्र्धित नमः बुद्ध हाइड्रोपावर प्रा.लि.ले तिनाउ खोलामा ३.४४ मेगावाटको बिजुली निकाल्ने घोषणा गरेको छ । साना लगानीकर्तालाई जोडेर ठुलो प्रोजेक्टहरुमा लगानी गर्ने मुख्य योजनासहित अघि बढिरहेको भिजन लुम्बिनीले रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गर्दै पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा सो जलविद्युत परियोजना सञ्चालन गरिने जनाएको छ ।
करिब ७० करोड लागत अनुमान रहेको सो आयोजना १५ महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने र राष्ट्रिय प्रसारणमा जोड्नका लागि सम्पूर्ण तयारी पुरा भएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार आयोजनामा लगानीका लागि लुम्बिनी विकास बैंकसँग सम्झौता गरी स्रोत सुनिश्चितता भइसकेको छ । पोखरेलले सामूहिक लगानी नै समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना निर्माण अघि बढेको बताउनुभयो । अध्यक्ष पोखरेलले आयोजनामा लगानी गर्न बुटवलबासीलाई आग्रह पनि गर्नुभएको छ ।
जलविद्युत परियोजनाको प्राविधिक पक्ष वातावरणीय तथा पर्यावरणीय मुल्यांकन लगाएत प्रारम्भिक चरणको काम सकिएको छ । यसअघि भिजन लुम्बिनीको संयोजन र ब्यबस्थापनमा कास्कीमा २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । १० वर्षअघि १० करोड पुँजी संकलन गरी यात्रा सुरु गरेको भिजन लुम्बिनीले अहिले १२ वटा ठूला प्रोजेक्टमा लगानी गरी काम सुरु गरेको छ । निकट भविष्यमा १ अनुपात ४ को हकप्रद शेयर निस्कासन गर्ने आवश्यक तयारी पनि गरेको छ । यसपछि सर्वसाधारण लगानीकर्ताका लागि आईपिओमा पनि जाने तयारी भइरहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।
कुल ५१ करोड पुँजी रहेको भिजन लुम्बिनी लिमिटेडका सञ्चालक राजीव गौतमले पश्चिम नेपालको महाकाली र कर्णालीमा पनि ठूला जलविद्युत आयोजनाहरु निर्माण गर्न काम अघि बढाउने प्रक्रियामा रहेको बताउनुभयो ।
सञ्चालक गौतमले साना–साना लगानीकर्तालाई जोडेर भिजन लुम्बिनी कम्पनी स्थापना गरिएको जानकारी गराउनुभयो। उहाँले भिजन लुम्बिनीले अहिले देशका विभिन्न ठाउँमा हाइड्रो, फाईनान्स, हस्पिटालिटी र सुचना प्रविधि लगायतका विभिन्न क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा लगानीकर्ताकातर्फबाट कुलबहादुर केसी, अनुपमान सैंजु लगायतले भिजन लुम्बिनीलाई भिजन नेपाल बनाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँहरुले साना लगानीकर्तालाई आकर्षित गर्दै ठूला परियोजनाहरु सञ्चालन गरेर समग्र मुलुकलाई नै आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउन भिजन नेपाल सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
