शनिवार , बैशाख १९, २०८३
भैरहवा, १९ वैशाख । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले शुभकामना आदानप्रदान तथा पात्रो विमोचन कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८३ को अवसरमा शनिबार भैरहवास्थित संघको भवनमा कार्यक्रम गरिएको अध्यक्ष राजन विश्वकर्माले बताउनुभयो । आगामी दिनमा पनि व्यवसायिक हितलाई प्राथमिकता दिदै अघि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ महत्वपूर्ण संस्था भएको बताउनुभयो । उहाँले नगरको विकाससँगै सामाजिक क्षेत्रमा संघको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो । नगरप्रमुख खाँले साना व्यवसायीलाई पनि सुनचाँदीको कमी हन दिन नहुने बताउनुभयो ।
उहाँले सिद्धार्थनगर नगरपालिकालाई छिमेकी पालिकाहरुलाई जोडेर उपमहानगरपालिका/महानगरपालिका बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै विशिष्ट अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले व्यवसायिक हकहितसँगै सामाजिक कार्य गर्दै आएको बताउनुभयो । उहाँले सुनचाँदीमा भएको मूल्यवृद्धिले व्यवसाय सञ्चालन गर्न र उपभोक्तालाई पनि समस्या भएको बताउनुभयो । उहाँले स्थानीय सरकारसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश सदस्य प्रकाशमणि विश्वकर्माले व्यवसायीले नियम परिधिभित्र रहेर व्यवसाय गर्दै आएको बताउनुभयो ।
रुपन्देही सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष मनोज सेन्चुरीले पात्रोको महत्व बुझ्ने व्यक्त असफल नहुने बताउनुभयो । उहाँले सुनचाँदी पसलमा चोरी हुँदा व्यवसायी मर्कामा पर्ने गरेको उल्लेख गर्नुभयो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका संस्थापक तथा सल्लाहकार डम्बरलाल रामदामले संघले धेरै राम्रो काम गर्दै आएको बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले सतर्क भएर कारोबार गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले २०८२ सालमा उद्योगी–व्यवसायीका लागि धेरै समस्या आएको बताउनुभयो । उहाँले २०८३ सालमा उद्योग–व्यवसाय फस्टाउने विश्वास व्यक्त गर्नुभयो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन विश्वकर्माको अध्यक्षता, प्रथम उपाध्यक्ष सुनिल सेन्चुरीको स्वागत, क्यालेण्डर प्रकाशन संयोजक एवं संघका द्वितीय उपाध्यक्ष मिलन विश्वकर्माको धन्यवाद ज्ञापन तथा महासचिव गणेश वि.क.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
