सोमवार , बैशाख २१, २०८३
भैरहवा, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले ४३ लाख रुपैयाँ बढीको हुक्का (भेप) बरामद गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–११, कालिकानगरस्थित गोदामबाट अन्दाजी मूल्य ४३ लाख २१ हजार ५ सय रुपैयाँ बराबरका भेप र हुक्कामा प्रयोग हुने सामग्री नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रहरीले सोही ठाउँबाट ३५ वर्षीय पिंकु जयसवाललाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका जयसवालसहित बरामद सामान थप अनुसन्धान तथा कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।
डीएसपी चन्दका अनुसार बरामद सामग्रीमा हुक्का भेप १५७ पिस, हुक्कामा प्रयोग हुने कोइला १ हजार ४ सय २२ पिस, हुक्कामा प्रयोग हुने फ्लेवर ५ सय ५२ पिस, हुक्का सेट १६० पिस, हुक्का बेस ३३ पिस, हुक्काको एअर बलर ४५ पिस, हुक्काको पाइप ६ सय पिस, हुक्का प्लाउट १ सय पिस, हुक्का चिलिम ७ सय पिस र हुक्का हिटर २२ पिस रहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
