२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

सैनामैनामा वातावरणीय अधिकारसम्बन्धी सचेतना अभिवृद्धि सम्पन्न

मंगलवार , जेठ १२, २०८३

  • 220
    Shares
  • 220
    Shares
  • रुपन्देही, १२ जेठ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ मा सरोकारवाला संघ–संस्था, वडा प्रतिनिधि, टोल विकास संस्था तथा सीमान्तकृत समुदायका प्रतिनिधिहरूको सहभागीतामा सोमबार वातावरणीय अधिकारसम्बन्धी सचेतना अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

    महिला तथा सीमान्तकृत समुदायको वातावरणीय अधिकार, समावेशी सुशासन तथा स्थानीय तहमा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा महिला, युवा, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिमलगायत समुदायका प्रतिनिधिहरूको सहभागीता थियो ।

    कार्यक्रमको सहजीकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका कमल सिंह थारुले गर्नुभएको थियो । उहाँले वातावरणीय अधिकारलाई मानव अधिकारका रूपमा व्याख्या गर्दै स्वच्छ हावा, सुरक्षित खानेपानी, स्वस्थ वातावरण, प्राकृतिक स्रोतसाधनमा पहुँच तथा वातावरणीय निर्णय प्रक्रियामा सहभागिताको अधिकारबारे जानकारी प्रदान गर्नुभएको थियो । त्यसै गरी नेपालको संविधानमा व्यवस्था गरिएको स्वच्छ वातावरणको हक, स्वास्थ्यको हक तथा गरिमापूर्वक बाँच्न पाउने अधिकारका विषयमा समेत सहजीकरण गर्नुभएको थियो ।

    तालिममा सहभागीहरूले आफ्नो समुदाय तथा टोलमा देखिएका वातावरणीय समस्याहरू पहिचान गर्दै पानी अभाव, फोहोर व्यवस्थापन, वन पहुँच, जलवायु परिवर्तन तथा विपद्का असरबारे अनुभव आदानप्रदान गरेका थिए । साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको दायित्व, सीमान्तकृत समुदायप्रति उत्तरदायित्व, योजना तथा बजेट प्रक्रियामा सहभागिता, सार्वजनिक सुनुवाइ, सामाजिक लेखापरीक्षण तथा सामूहिक पैरवीका विषयमा समेत छलफल गरिएको थियो ।

    त्यसै गरी कार्यक्रममा दलित महिला संघका अध्यक्ष मनु खड्का, सिर्जनशील टोल विकास संस्थाका अध्यक्ष शान्ति अर्याल, जागरण टोल विकास संस्थाका अध्यक्ष रामबहादुर बस्याल, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रुद्र सुनार लगायतले बोल्दै वातावरणीय न्याय, समावेशी सहभागिता तथा समुदायस्तरमा सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।

    सहभागीहरुले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै समुदायमा थप जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उहाँहरुले वातावरणीय अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै समुदायलाई सशक्त बनाउन यस किसिमको कार्यक्रम प्रभावकारी हुने बताएका थिए ।

    सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा सञ्चालित ’समावेशी लोकतन्त्र र मानव अधिकारका लागि नागरिक समाज सबलीकरण परियोजना’ अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम सेन्टर फर इन्टरनेशनल स्टडिज एण्ड कोअपरेसन (सेसी) को आर्थिक सहयोग तथा प्रो–पब्लिकको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको आयोजकले जनाएका छन् ।

    kkk.jpg


    उक्त परियोजना रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिका, कपिलवस्तुको बाणगंगा नगरपालिका र शुद्धोधन गाउँपालिका तथा नवलपरासीको बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा कार्यान्वयन भइरहेको छ ।