बुधवार , जेठ १३, २०८३
रुपन्देही, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा ५० वटा उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको जनाएको छ ।
आयोगको २६ औं वार्षिकोत्सव बुधबार दाङमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख सन्तोष आचार्यले ५० उजुरीको अनुसन्धान पूरा गर्दै यस अवधिमा १७ वटा विषयमा अनुगमन तथा ७ वटा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभएको । उहाँका अनुसार कार्यालयमा न्याय प्रशासन सम्बन्धी उजुरी आउने गरेका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग जतिबेला पनि चनाखो र सक्रिय हुनुपर्ने सुझाउनुभयो । उहाँले समाज सुधार आवश्यक रहेको उल्लेख गर्दै राज्यलाई मानव अधिकारप्रति जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा आयोगले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै सरकारले सार्वजनिक नगरे आयोग आफैंले सार्वजनिक गरेर राज्यमाथि न्याय गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
मुख्यमन्त्री आचार्यले फरक राजनीतिक विचार राखेकै आधारमा व्यक्तिगत सम्पत्तिहरु खरानी बन्नु र सरकारी संरचनामा ठूलो क्षति पुग्नु दुःखद भएको बताउनुभयो । सरकारले नसकेको अवस्थामा आयोगले प्रतिवेदन सार्वजनिक गर्ने आँट गर्न सक्नुपर्ने उहाँको भनाइ छ । उहाँले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकको मानवअधिकार हनन गर्नु गम्भीर विषय भएको बताउनुभयो । उहाँले होल्डिङ सेन्टरको अवस्थाबारे पनि मानव अधिकार आयोगले अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले राज्यलाई सही मार्गमा उभ्याउने जिम्मेवारी मानव अधिकार आयोगको रहेको र मानव अधिकार संरक्षणको सुनिश्चितताको वातावरण घरबाटै सुरु हुनुपर्नेमा जोड दिनुभयो ।
सभामुख तुलाराम घर्तीमगरले दृष्टिकोण र सोचकै समस्या कारण मानव अधिकार हननका घटना भइरहेको बताउनुभयो । उहाँले आत्मसमीक्षासहित मानव अधिकार हनन रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, गैरसरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष सुशिला बेल्वासे, सेवाग्राही केशव पोख्रेललगायतले आयोगका काम थप प्रभावकारी बनाउन सुझाव राख्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
