२०८३, जेठ २० गते

Jun 03 2026 | २०८३, जेठ २० गते

लुम्बिनीमा एमालेका चार मन्त्रीद्वारा राजीनामा, नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो

बुधवार , जेठ २०, २०८३

  • 526
    Shares
  • 526
    Shares
  • दाङ, २० जेठ । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) बाट सहभागी चारजना मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन् । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्यमन्त्री खेम बहादुर सारु र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउनुभएको हो । 

    मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले मन्त्रीहरुको राजीनामा स्वीकृत समेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

    प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने तयारी अन्तर्गत मन्त्रीहरू परिवर्तन गरिएको बताइएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ । मन्त्रालय संख्या घटाउने विषय सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।

    सत्ता साझेदार दलहरूबीच सरकार पुनर्गठनबारे छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्य यथावत् रहने र एमालेबाट नयाँ मन्त्री नियुक्तिका लागि आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ ।