२०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हरियाली प्रवर्द्धनमा तिलोत्तमा व्यापार संघ सक्रिय

शुक्रवार , जेठ २२, २०८३

  • 289
    Shares
  • 289
    Shares
  • तिलोत्तमा, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा व्यापार संघ रुपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिका–८ स्थित करहिया सामुदायिक वन उपभोक्ता समूहको परिसरमा लगाइएका पलासका बोटबिरुवामा गोडमेल तथा मलजल गरिएको छ ।

    वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा व्यवसायी, सामुदायिक वनका पदाधिकारी तथा संघका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको सहभागीता थियो ।

    कार्यक्रममा पलासका बिरुवाको संरक्षण, वृक्षारोपणको महत्व तथा वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास आवश्यक रहेको विषयमा छलफल समेत गरिएको थियो ।

    कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले वातावरण संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । उहाँले बढ्दो प्रदूषण र जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न वृक्षारोपण मात्र नभइ रोपिएका विरुवाको संरक्षणमा समेत ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । स्थानीय तहले वातावरणमैत्री कार्यक्रमलाई प्राथमिकता दिइरहेको बताउँदै उहाँले यस्ता अभियानलाई निरन्तरता दिन सबैलाई आग्रह गर्नुभयो ।

    करहिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिलाल पाण्डेले वन क्षेत्र जैविक विविधता संरक्षणको महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले पलासलगायत स्थानीय प्रजातिका विरुवाको संरक्षणले वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने उल्लेख गर्दै सामुदायिक वनले वातावरण संरक्षणका गतिविधिलाई निरन्तर अघि बढाइरहेको जानकारी दिनुभयो ।

    संघका प्रमुख सल्लाहकार एवं रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले वातावरण संरक्षण सरकारी निकाय वा कुनै एक संस्थाको मात्र दायित्व नभइ सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले व्यवसायिक क्षेत्रले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

    तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले संघले स्थापना कालदेखि नै सामाजिक तथा वातावरणीय गतिविधिलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । विश्व वातावरण दिवसको अवसरमा गरिएको गोडमेल तथा मलजल कार्यक्रमले रोपिएका बिरुवाको संरक्षणमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

    संघका प्रथम उपाध्यक्ष मानबहादुर बर्माले वातावरण संरक्षणका अभियानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । उहाँले वृक्षारोपणपछि बिरुवाको नियमित हेरचाह र संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

    महासचिव चेतनारायण विश्वकर्माले वातावरणीय सन्तुलन कायम राख्न हरियाली विस्तार अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले संघले समुदायसँग सहकार्य गर्दै वातावरण संरक्षण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

    Tilottama byapar sangh photo.jpeg

    कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि व्यक्तिगत तथा संस्थागत तहबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्नुका साथै रोपिएका बिरुवाको संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।