२०८३, आषाढ ४ गते

Jun 18 2026 | २०८३, आषाढ ४ गते

पोखरेललाई ‘कर्पोरेट इण्डष्ट्री लिडरसीप अवार्ड–२०२६’

बिहिवार , आषाढ ४, २०८३

  • 511
    Shares
  • 511
    Shares
  • काठमाडौं, ४ असार । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल ‘कर्पोरेट इण्डष्ट्री लिडरसीप अवार्ड–२०२६’ बाट सम्मानित हुनुभएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८ औं कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।

    उद्योग–व्यवसाय क्षेत्रको विकास, निजी क्षेत्रको प्रभावकारी नेतृत्व, उद्यमशीलता प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तारमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको  छ।
    समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले अध्यक्ष पोखरेललाई अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा उद्योग, व्यापार, वित्त, बैंकिङ तथा विभिन्न पेशागत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

    सम्मान ग्रहणपछि अध्यक्ष पोखरेलले यो अवार्ड सम्पूर्ण उद्योगी–व्यवसायी समुदाय, चेम्बर परिवार तथा लुम्बिनी प्रदेशका निजी क्षेत्रप्रति समर्पित रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको सशक्तिकरण, लगानी प्रवद्र्धन र आर्थिक समृद्धिका लागि आफ्नो प्रतिबद्धता अझ मजबुत भएको प्रतिक्रिया दिनुभयो ।

    नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष पोखरेलले निजी क्षेत्रका समस्या समाधान, उद्यमशीलता विकास, लगानीमैत्री वातावरण निर्माण तथा सरकार–निजी क्षेत्रबीच सहकार्य अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँको नेतृत्वमा व्यवसायिक वातावरण सुधार, लगानी विस्तार तथा आर्थिक गतिविधि प्रवद्र्धनका विभिन्न पहलहरू अघि बढाइएका छन् ।

    कर्पोरेट बिजनेस म्यागजिनले प्रत्येक वर्ष विभिन्न क्षेत्रका उत्कृष्ट योगदानकर्तालाई सम्मान गर्दै आएको छ । यस वर्षको समारोह यसको १८औँ संस्करण हो ।