शुक्रवार , आषाढ ५, २०८३
भैरहवा, ५ असार । रुपन्देही प्रहरीले एक महिनामा २ करोड बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार जेठ महिनामा भन्सार छली भारतबाट नेपाल ल्याइएका सामान नियन्त्रण गरिएको र त्यसबाट २ करोड ४३ लाख ४० हजार १ सय ६६ रुपैयाँ राजस्व संकलन भएको छ । राजस्व चुहावट तथा भन्सार छलीमा संलग्न २२ जनालाई पक्राउ गरिएको र ४० वटा सवारीसाधन नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार जेठ महिनामा जिल्लामा विभिन्न अपराध सम्बन्धी १८२ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्बन्धी २३, आत्महत्या १४, चोरी ९, संगठित तथा आर्थिक अपराध ५९, सामाजिक अपराध ५२, महिला बालबालिकासम्बन्धी अपराध १३ र सवारी सम्बन्धी १२ वटा रहेका छन् ।
फैसला कार्यान्वयनतर्फ ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेकाबाट ५२ लाख ६६ हजार ४ सय १२ रुपैयाँ जरिवाना र १६ वर्ष ५ महिना २५ दिन कैद तथा तथा सजाय असुल भएको प्रहरीले जनाएको छ । त्यस्तै जेठमा घरेलु हिंसासम्बन्धी ९३ वटा उजुरी परेका छन् ।
ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका ३ हजार ५ सय ६६ सवारीसाधनमाथि कारवाही गरी ५६ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । उक्त अवधिमा जिल्लामा १५८ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा २५६ जना घाइते भएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij