२०८३, आषाढ ६ गते

Jun 20 2026 | २०८३, आषाढ ६ गते

लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्ष्टिच्युटद्वारा ड्रागन बोट पर्व सम्पन्न

शनिवार , आषाढ ६, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • लुम्बिनी, ६ असार । चीन र नेपालबीचको साँस्कृतिक आदान–प्रदान एवं मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्ष्टिच्युटले चिनियाँ भाषामा “粽香佛诞地.丝系中尼情” शीर्षक दिइएको ड्रागन बोट पर्व, साँस्कृतिक प्रवद्र्धन तथा परम्परागत चिनियाँ खाद्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, विद्यार्थी, साँस्कृतिक क्षेत्रका प्रतिनिधि तथा अन्य अतिथिहरूको सहभागीता थियो । सहभागीहरूले चीनका प्रमुख परम्परागत चाडहरूमध्ये एक मानिने ड्रागन बोट पर्वको साँस्कृतिक महत्वबारे जानकारी हासिल गर्नुका साथै विभिन्न गतिविधिमार्फत चिनियाँ संस्कृतिको प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गरेका थिए ।

    कार्यक्रमको उद्घाटन कन्फ्युसियस इन्स्टिच्युटका नेपाल निर्देशक डा. कुमार खड्काको स्वागत मन्तव्यबाट भएको थियो । सो अवसरमा डा.खड्काले इन्ष्टिच्युट स्थापना भएयता हासिल भएका उपलब्धी, वर्तमान शैक्षिक गतिविधि तथा भावी योजनाबारे जानकारी दिनुभयो । उहाँले चिनियाँ भाषा शिक्षाको प्रवद्र्धन, शैक्षिक सहकार्य र साँस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउन संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

    त्यस्तै नेपाल–चीन मैत्री समाज, लुम्विनीका अध्यक्ष मनिष कुमार जोशीले चीन र नेपालबीचको ऐतिहासिक मित्रता तथा साँस्कृतिक सम्बन्धको चर्चा गर्नुभयो । उहाँले शिक्षा, संस्कृति र जनस्तरको सम्पर्कमार्फत दुई देशबीचको सम्बन्ध अझ मजबुत बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा सहकार्यका क्षेत्र थप विस्तार हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

    कार्यक्रमको साँस्कृतिक सत्रमा कन्फ्युसियस इन्ष्टिच्युटका विद्यार्थीहरूले चिनियाँ गीतहरू प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुतिले चिनियाँ भाषा अध्ययनप्रतिको लगाव र संस्कृतिप्रतिको सम्मान झल्काएको थियो, जसलाई उपस्थित दर्शकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए ।

    साँस्कृतिक व्याख्यान सत्रमा कन्फ्युसियस इन्ष्टिच्युटका चिनियाँ निर्देशक डा. काओ रुईले ‘ड्रागन बोट को इतिहास, परम्परा र साँस्कृतिक महत्व’ विषयमा विशेष प्रस्तुति दिनुभएको थियो । उहाँले पर्वको उत्पत्ति, देशभक्त कवि चू युआनको इतिहाससँग जोडिएको पृष्ठभूमि, ड्रागन बोट दौड, जोङ्जी (चामलको विशेष परिकार) बनाउने परम्परा र चिनियाँ चिया संस्कृतिबारे विस्तृत जानकारी दिनुभयो । साथै यस पर्वले पारिवारिक एकता, देशभक्ति र साँस्कृतिक निरन्तरताको सन्देश दिने उहाँले उल्लेख गर्नुभयो ।