आइतवार , आषाढ ७, २०८३
भैरहवा, ७ असार । सुनचाँदी व्यवसायीले व्यवसाय सञ्चालनमा विभिन्न समस्या रहेको गुनासो गरेका छन् । उनीहरुले व्यवसाय विभिन्न समस्याबाट गु्रजिरहेको बताए ।
शनिबार भैरहवामा भएको सिद्धार्थनगर सुनचाँदी व्यवसाय संघ, रुपन्देहीको पाँचौ वार्षिक साधारण सभामा बोल्ने व्यवसायीहरुले जेनतेन व्यवसाय सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सुनचाँदी व्यवसायीले व्यवसायमा रहेका समस्या समाधानका लागि मागहरु जोडदार रुपमा उठाउनुपर्ने बताउनुभयो । उहाँले व्यवसायीको माग सम्बोधनका लागि स्थानीय सरकारकोतर्फबाट सहयोग गर्ने बताउनुभयो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसाय संघका अध्यक्ष राजन विश्वकर्माले व्यवसायीको हकहितसँगै संघले सामाजिक कार्यहरु पनि गरिरहेको बताउनुभयो । उहाँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सिद्धार्थनगर नगरपालिका–१३ मा रहेको संस्थाको भवनलाई अझ व्यवस्थित बनाउने भावी योजना रहेको सुनाउनुभयो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले व्यवसाय सञ्चालन गर्न कठिन बनेको बताउनुभयो । उहाँले व्यवसायी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
महासंघका पूर्व उपाध्यक्ष जोगलाल विश्वकर्माले सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले आफूलाई अब्बल संस्थाको रुपमा स्थापित गरेको बताउनुभयो ।
सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका निवर्तमान उपाध्यक्ष विक्रम सुनारले आगामी दिनमा पनि संस्थाले व्यवसायिक हितसँगै सामाजिक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
संघका लुम्बिनी प्रदेश सदस्य प्रकाशमणि विश्वकर्माले सुन आयातमा १० प्रतिशतबाट बढाएर २० प्रतिशत कर लगाइएपछि व्यवसाय सञ्चालनमा समस्या आएको बताउनुभयो । रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदामले दिनप्रतिदिन सुन महंगिदै जाँदा व्यवसायमा समस्या भएको बताउनुभयो । उहाँले सुनचाँदी पसलबाट चोरी भएका गहना फिर्ता पाउन नसकिएको बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष राम किसन विश्वकर्माले बाहिरबाट हेर्दा झलमल्ल देखिए पनि विभिन्न समस्याबाट व्यवसाय गुज्रिरहेको बताउनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले व्यवसायलाई सुरक्षाको चुनौतिसँगै आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घट्दा व्यवसाय सञ्चालनमा समस्या परेको बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले स्वदेशमै सुनचाँदी व्यवसायमा आवश्यक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सुनचाँदी व्यवसायीको सुरक्षाका लागि स्थानीय सरकारले पनि नगर प्रहरी खटाउनुपर्ने बताउनुभयो । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले सामाजिक कार्यलाई अघि बढाएको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा देवदह सुनचाँदी व्यवसायी संघका अध्यक्ष इन्द्र सुनार, सिद्धार्थनगर विश्वकर्मा महिला समाज, रुपन्देहीका अध्यक्ष हिरा शोभ लगायतले बोल्नुभएको थियो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसाय संघका अध्यक्ष राजन विश्वकर्माको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यता, संघका वरिष्ठ उपाध्यक्ष प्रेम रामदामको स्वागत, प्रथम उपाध्यक्ष सुनिल सेन्चुरीको धन्यवाद ज्ञापन तथा महासचिव गणेश वि.क.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij