मंगलवार , आषाढ ९, २०८३
बुटवल, ९ असार । प्रविधिको क्षेत्रमा नयाँ पुस्तालाई व्यवसायिक र दक्ष बनाउने उद्देश्यका साथ स्मार्ट आईटी सोलुसनले आयोजना गर्दै आएको ‘साप्ताहिक डिजिटल प्रतियोगिता’ यसपटक लुम्बिनी शिक्षालयमा सम्पन्न भएको छ ।
आइतबार विद्यार्थीहरूमाझ प्रविधिको ज्ञान, रचनात्मकता र डिजिटल सीपको विकास गराउने लक्ष्यसहित आयोजित यस प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागीता थियो ।
प्रतियोगितामा सहभागी कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी उनीहरूको उमेर र क्षमता अनुसार विभिन्न विधामा प्रतिष्पर्धा गराइएको आयोजक स्मार्ट आईटी सोलुसनले जनाएको छ । अल्फा लुम्बिनी ई.बोर्डिङ्ग स्कुल (लुम्बिनी शिक्षालय) मा कक्षा ३ र ४ का विद्यार्थीहरुलाई डिजिटल आर्ट च्यालेन्ज अन्तरगत दिक्षान्त पौडेल प्रथम, प्रशंसा सुनार द्वितीय र आरभ अग्रहरी तृतीय भएका छन् ।
त्यस्तै कक्षा ५ र ६ का विद्यार्थीहरुलाई टाइप राइट च्यालेन्ज आनन्द अर्याल प्रथम, क्रिपेश पौडेल द्वितीय र रिवाज पोखरेल तृतीय भएका छन् भने कक्षा ७ र ८ का विद्यार्थीहरुलाई प्रेजेन्ट एक्स च्यालेन्जमा प्रतिष्पर्धामा सुवर्ण चौधरी प्रथम, जगत पौडेल द्वितीय र संशाक गौतम तृतीय स्थान भएका छन् ।
प्रतियोगितमा उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कारसहित आकर्षक ट्रफी तथा प्रमाणपत्र प्रदान प्रदान गरिएको छ भने सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई सहभागीताको प्रमाणपत्र समेत प्रदान गरिएको कार्यक्रम संयोजक बद्री पोखरेलले जानकारी दिनुभयो । उहाँले यस्ता प्रतियोगिताले बालबालिकामा सिर्जनशीलता, डिजिटल सीप र प्रतिष्पर्धात्मक भावनाको विकास गराउनुका साथै भविष्यमा आईटी क्षेत्रमा करियर बनाउन प्रेरित गर्ने बताउनुभयो ।
कार्यक्रममा स्मार्टआईटी सोलुसन इनोभेसन एन्ड रिसर्चका डा. मिन प्रसाद खनालको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विद्यालयका प्रधानाध्यापक पुष्कर थापा, सहायक प्रधानाध्यापक सतिश गैरे र प्रशासन प्रमुख बिन्दु योगीले विशेष भूमिका खेल्नुभएको थियो ।
त्यस्तै एकेडेमिक इन्चार्ज धन बहादुर चिडी मगर, कक्षा २ र ३ की इन्चार्ज सुनिता श्रेष्ठ र प्रि–प्राइमरी इन्चार्ज पुजा गैरेले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै विद्यालयले सानै उमेरदेखि डिजिटल साक्षरतालाई प्राथमिकता दिदै आएकोमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij