२०८३, आषाढ १० गते

Jun 24 2026 | २०८३, आषाढ १० गते

ई–सेवा केयर इन्स्योरेन्स लागू–रोट्रयाक्ट बुटवल डाउनटाउनको इतिहासमै पहिलो बीमा कार्यक्रम

बुधवार , आषाढ १०, २०८३

  • 409
    Shares
  • 409
    Shares
  • बुटवल, १० असार । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले ई–सेवासँग गरेको ‘ई–सेवा केयर इन्स्योरेन्स’ सम्बन्धी सम्झौता औपचारिक रूपमा लागू भएको छ । क्लबले यसलाई आफ्नो इतिहासमै पहिलो बीमा कार्यक्रमको रूपमा माइलस्टोन उपलब्धि भनेको छ ।

    उक्त सम्झौता जेठ ३० गते रोट्रयाक्ट युथ आइकनको ग्रान्ड फिनालेको अवसरमा सम्पन्न गरिएको थियो । सोही सम्झौता मंगलबारदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको हो ।

    यस बीमा योजनाबाट कुल ७३ जना लाभान्वित हुनेछन् । लाभग्राहीहरूमा रोट्रयाक्ट युथ आइकनका २७ सहभागी, केही चयनित पूर्व अध्यक्षहरू, मुख्य प्रशिक्षक, मुख्य निर्णायक, बोर्ड सदस्यहरू तथा बीमा सुविधा नभएका सक्रिय सदस्यहरू समावेश छन् ।

    सम्झौतामा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आभिष्कार खनाल र ई–सेवाका प्रतिनिधि गोपाल न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो । यो सम्झौता रोट्रयाक्ट युथ आइकनको ग्रान्ड फिनालेको विशेष अवसरमा सम्पन्न भएको हो ।

    यस बीमा योजना अन्तर्गत दुर्घटनाको अवस्थामा उपचार खर्चका लागि अधिकतम १ लाख रुपैयाँसम्मको सुविधा तथा दुर्घटनाबाट मृत्यु भएमा १ लाख २० हजार रुपैयाँसम्मको क्षतिपूर्ति उपलब्ध हुनेछ । यो सुविधा सडक दुर्घटना, सवारी दुर्घटना, खेलकुदका क्रममा हुने चोटपटक लगायत विभिन्न आकस्मिक दुर्घटनामा लागू हुनेछ ।

    बीमा सुविधा एकवर्षको अवधिका लागि मान्य रहनेछ भने तोकिएको सीमाभित्र धेरैपटक दावी गर्न सकिने व्यवस्था छ । यो सेवा नेपालभरका सरकारी तथा निजी अस्पतालहरूमा लागू हुनेछ ।

    क्लबले सदस्यहरूको सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्दै ल्याइएको यो कार्यक्रमले सदस्यहरूलाई थप सुरक्षा, आत्मविश्वास र सेवा भावनामा मजबुति प्रदान गर्ने अपेक्षा गरेको छ ।