२०८३, आषाढ १७ गते

Jul 01 2026 | २०८३, आषाढ १७ गते

रुपन्देहीमा दुई दिनमा ४० लाख बढीको अवैध मोबाइल बरामद

मंगलवार , आषाढ १६, २०८३

  • 328
    Shares
  • 328
    Shares
  • भैरहवा, १६ असार । रुपन्देहीमा दुई दिनमा प्रहरीले ४४ लाख ४० हजार रुपैयाँ बढीको अवैध मोबाइल बरामद गरेको छ । असार १३ गते ओमसतिया गाउँपालिका–४ स्थित सानो बालापुरबाट प्रहरीले अन्दाजी मूल्य २३ लाख ९० हजार बराबरको मोबाइल नियन्त्रणमा लिएको हो ।

    इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको प्रहरी टोलीले लु ५३ प ३३९८ नम्बरको स्कुटरलाई चेकजाँच गरेको थियो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृृष्ण कुमार चन्दका अनुसार चेकजाँचका क्रममा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मोबाइल फोनहरु नियन्त्रणमा लिइएको हो ।

    मोबाइल फोन र स्कुटर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाउने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले एप्पल आईफोन १७ (२ थान), एप्पल आईफोन १३ (२५६ जीबी) ९ थान, एप्पल आईफोन १३ (१२८ जीबी) १२ थान, एप्पल आईफोन १४ प्रो (२ थान) र एप्पल आईफोन ११ (१२८ जीबी) १३ थान बरामद गरेको हो ।

    त्यस्तै असार १५ गते २० लाख ५० हजार रुपैयाँ बराबरको अवैध मोबाइलसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिका–५ स्थित बेनीनगरमा इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको टोलीले अन्दाजी २० लाख ५० हजार रुपैयाँ बराबरको मोबाइल र मोटरसाइकलसहित कोटहीमाई–२ बस्ने ३६ वर्षिय पवन कुमार मुरावलाई पक्राउ गरेको हो ।

    डीएसपी चन्दका अनुसार प्रहरी टोलीले आकस्मिक रुपमा चेकप्वाईट स्थापना गरी चेकजाँच गर्दा मुरावले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट उक्त मोबाइलहरु नियन्त्रणमा लिएको हो ।

    भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका मोबाइल र मोटरसाइकल आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले बरामद गरेको मोबाइलमा आईफोन–१३ (१२८ जीबी) ७ थान, एप्पल आईफोन–१२ (१७ थान), आईफोन–१२ प्रो म्याक्स (२५६ जीबी) २ थान, आईफोन–१३ (२५६ जीबी) १ थान, आईफोन–१३ प्रो म्याक्स (२५६ जीबी) १ थान, आईफोन–१४ प्रो (२५६ जीबी) १ थान, आईफोन–१४ प्रो म्याक्स (२५६ जीबी) १ थान, एप्पल आईफोन ११ (१२८ जीबी) ४ थान र आईफोन–१५ (१२८ जीबी) १ थान रहेका छन् ।