२०८३, आषाढ १७ गते

Jul 01 2026 | २०८३, आषाढ १७ गते

लुम्बिनी प्रदेशमा ट्राफिक प्रहरीको कारवाही तीव्र, घटेन दुर्घटना

बुधवार , आषाढ १७, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • बुटवल, १७ असार । लुम्बिनी प्रदेशमा ट्राफिक प्रहरीको निगरानी, कारवाही र जनचेतनामूलक अभियान निरन्तर तीव्र बन्दै गए पनि सडक दुर्घटनाको ग्राफ भने अझै सन्तोषजनक रूपमा घट्न सकेको छैन । पछिल्ला दुई महिनाको तथ्यांकले सडक सुरक्षामा सुधारका प्रयास भइरहे पनि दुर्घटना र त्यसबाट हुने मानवीय तथा आर्थिक क्षति अझै चुनौतीकै रूपमा रहेको देखाएको छ । 

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवल, रुपन्देहीका अनुसार गत वैशाख र जेठ महिनामा मात्रै प्रदेशभर ३३९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका छन् भने ६४१ जना घाइते भएका छन् । औसतमा हेर्दा प्रत्येक दिन झण्डै दुईजनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने पाँचभन्दा बढी दुर्घटना भएका छन् । यो तथ्यांकले सडक सुरक्षाको अवस्था अझै गम्भीर रहेको संकेत गर्छ ।

    वैशाख महिनामा १८९ वटा दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको थियो भने ३८६ जना घाइते भएका थिए । जेठ महिनामा दुर्घटनाको संख्या १५० मा झरे पनि ४० जनाले ज्यान गुमाए र २५५ जना घाइते भए । दुर्घटनाको संख्या केही घटे पनि मृत्यु र घाइतेको अवस्था अझै चिन्ताजनक रहेको देखिन्छ । 

    कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अधिकांश दुर्घटना मानवीय त्रुटीकै कारण भएका छन् । तीव्र गति, मादकपदार्थ सेवन, गलत स्थानबाट ओभरटेक, लेन अनुशासन उल्लंघन, मोबाइल फोन प्रयोग तथा चालकको असावधानी दुर्घटनाका प्रमुख कारण बनेका छन् । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाका अनुसार चालकको लापरवाही नै सडक दुर्घटनाको सबैभन्दा ठूलो कारण हो । उहाँका अनुसार विशेष गरी तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम अत्यधिक बढाएको छ ।

    जेठ महिनाको तथ्यांकले पनि यही अवस्था देखाउँछ । उक्त महिनामा भएका १५० दुर्घटनामध्ये ९९ वटा दुर्घटना तीव्र गतिका कारण भएका थिए । मापसे गरेर सवारी चलाउँदा १७ वटा दुर्घटना भएका छन् भने चालकको सीप तथा क्षमता अभावका कारण १८ वटा दुर्घटना भएका छन् । निद्रा वा अत्यधिक थकानका कारण एक, मोबाइल फोन प्रयोग गर्दा एक, गलत स्थानबाट ओभरटेक गर्दा दुई तथा लेन अनुशासन उल्लंघन गर्दा एक दुर्घटना भएको प्रहरीको विश्लेषणले देखाएको छ । अन्य विभिन्न प्रकारका लापरबाहीका कारण थप तीनवटा दुर्घटना भएका छन् ।

    दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकमाथि कारवाहीलाई पनि तीव्र बनाएको छ । वैशाख महिनामा १० हजार ९११ चालक कारवाहीमा परेका थिए । उनीहरूबाट १ करोड ६५ लाख ७६ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको थियो । जेठ महिनामा कारवाहीमा पर्ने चालकको संख्या बढेर १२ हजार ८०५ पुगे पनि दुर्घटनाको जोखिम भने अझै कायम देखिएको छ । सो महिनामा १ करोड ४८ लाख ३१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । 

    मादकपदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति पनि अझै नियन्त्रणमा आउन सकेको छैन । जेठ महिनामा मात्रै १ हजार ११३ जना चालक मापसे गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेका छन् । त्यस्तै लागूऔषध सेवन गरेर सवारी चलाउने ९ जना तथा अत्यधिक गतिमा सवारी चलाउने ७ जना चालकलाई समेत कानूनी कारवाही गरिएको छ । 

    ट्राफिक प्रहरीले सवारीसाधनको प्राविधिक अवस्था र सार्वजनिक यातायातको व्यवस्थापनमा पनि निगरानी बढाएको जनाएको छ । जेठ महिनामा क्षमताभन्दा बढी सिट राखेर सञ्चालन गरिएका १३५ वटा सार्वजनिक सवारीसाधनबाट अतिरिक्त सिट हटाइएको छ । ८० वटा सवारीसाधनमा भार मिलान गरिएको छ भने २७५ वटा यात्रुबाहक सवारीसाधनमा यात्रु सुरक्षा र आवश्यक कागजात परीक्षण गरिएको छ । १५ वटा सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा भाडादर सूची टाँसिएको सुनिश्चित गरिएको छ भने १८३ जना चालकको स्वास्थ्य परीक्षण गरिएको छ । 

    नियमविपरीत जडान गरिएका पाँचवटा हिटरसमेत हटाइएको कार्यालयले जनाएको छ । सडक सुरक्षाबारे जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकता दिइएको छ । जेठ महिनामा मात्रै ३ हजारभन्दा बढी विद्यार्थी, चालक, यातायात व्यवसायी तथा सर्वसाधारणलाई ट्राफिक नियम, सुरक्षित सवारी सञ्चालन र सडक सुरक्षासम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण गरिएको छ । विद्यालय, कलेज, क्लब तथा विभिन्न संघ–संस्थामार्फत सचेतना अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

    प्रहरी उपरीक्षक थापाले सडक दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको प्रयासले मात्र सम्भव नहुने बताउनुहुन्छ । उहाँका अनुसार चालक, यात्रु, यातायात व्यवसायी, सडक निर्माण गर्ने निकाय तथा स्थानीय तह सबैले समान रूपमा जिम्मेवारी निर्वाह गरे मात्र दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिन्छ । गति नियन्त्रण गर्ने, मापसे नगर्ने, पर्याप्त विश्रामपछि मात्रै लामो दूरीको यात्रा गर्ने, मोबाइल फोन प्रयोग नगरी सवारी चलाउने र ट्राफिक नियमको पूर्ण पालना गर्ने बानीले अधिकांश दुर्घटना रोक्न सकिने उहाँको भनाइ छ । 

    कारवाहीको संख्या बढ्नु सकारात्मक संकेत भए पनि दुर्घटना र मृत्युको तथ्यांकले सडक सुरक्षामा अझै धेरै काम गर्न बाँकी रहेको देखाउँछ । विज्ञहरूका अनुसार केवल कारवाहीले मात्र दुर्घटना रोकिँदैन । सुरक्षित सडक पूर्वाधार, व्यवस्थित सार्वजनिक यातायात, नियमित चालक स्वास्थ्य परीक्षण, प्रभावकारी अनुगमन र नागरिकमा जिम्मेवार सडक संस्कृतिको विकास समान रूपमा आवश्यक छ । सडक सुरक्षालाई साझा दायित्वका रूपमा स्थापित गर्न नसकेसम्म दुर्घटनाको यो चक्र तोड्न कठिन हुने देखिन्छ ।