मंगलवार , आषाढ २३, २०८३
भैरहवा, २३ असार । रुपन्देहीको बेलहिया नाकालाई व्यवस्थित गर्नुपर्नेमा स्थानीयबासीले जोड दिएका छन् । उनीहरुले स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने यो नाका व्यवस्थित गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
बेलिहया गाउँ समाज सिद्धार्थनगर–१, बेलहियाले सोमबार भैरहवा भन्सार कार्यालयको सभाहलमा आयोजना गरेको बेलहिया नाका व्यवस्थापनका लागि चुनौती र समाधान विषयक नागरिक सुनुवाई कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
इलाका प्रहरी कार्यालय, बेलहियाको समन्वयमा भएको कार्यक्रममा बोल्नुहुँदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सरकारी निकायसँगै स्थानीयबासीको पनि भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘चरणबद्ध रुपमा कार्यान्यवन गर्दा केही समय लाग्ला । विगतमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्नुपर्छ । सबैको जवाफदेहीता हुन्छ । कहिलेकाही त्याग पनि गर्नुपर्छ । आफ्नो ठाउँमा सबै इमान्दार हुनुपर्छ । हामी इमान्दारीतापूर्वक प्रयत्न गर्छौं, त्यसमा यहाँहरुको साथ र सहयोग गर्नुपर्छ, ’उहाँले भन्नुभयो ।
सुन्दर, सफा र राम्रो बेलहियाको परिकल्पना पूरा गर्न आफूहरुकोतर्फ साथ रहने उहाँले बताउनुभयो । ‘एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सुचारु बनेपछि धेरै समय समाधान हुन्छ । सबैले आफ्नो दायित्व पूरा गरौं, ’उहाँले भन्नुभयो ।
त्यस्तै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आइसीपी निर्माण कार्यसम्पन्न भएपछि पार्किङको समस्या समाधान हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख (प्रहरी उपरीक्षक) जनक बहादुर शाहीले दीर्घकालीन रुपमा समस्या समाधान गर्न समिति बनाएर जाने कुरा नै जायज हुने बताउनुभयो । ‘सरकारी कर्मचारीले मात्र गरेर हुँदैन, नागरिकको साथ र सहयोग आवश्यक हुन्छ, ’उहाँले भन्नुभयो ।
जिल्ला ट्राफिक कार्यालय, रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीले ट्राफिक प्रहरी कानून कार्यान्वयनमा प्रतिबद्ध भएर लागेको बताउनुभयो । बेलहियाको ट्राफिक व्यवस्थापनका लागि लागिपरेको उहाँको भनाइ छ ।
सिद्धार्थनगर नगरपालिका–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले सरकार र समुदाय मिलेर विकास निर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय बासु क्षेत्रीले नेपाल आउने पर्यटक पर्यटकीय गन्तव्यसम्म नेपाली सवारीसाधनको प्रयोग गरेर जाँदा उपयुक्त हुने बताउनुभयो । पर्यटन व्यवसायी संजय बजिमयले बेलहियामा उचित पार्किङको अभाव हुँदा त्यसले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताउनुभयो ।
जेसीआई सिद्धार्थ, नेपालका पूर्वअध्यक्ष अर्जुन कुँवरले सडकको क्षमता भन्दा बढी सामान बोक्ने मालबाहक सवारीसाधनलाई जरिवाना तिराएर मात्र समस्या समाधान नहुने बताउनुभयो । लुम्बिनी मनिचेञ्जर व्यवसायी संघका अध्यक्ष पंकज उदासले सर्भिस लेनमा लामो समयसम्म सवारी पार्किङ गरिदा जाम हुनुका साथै दुुर्घटनाको जोखिम रहेको बताउनुभयो ।
बेलहिया गाउँ समाजका पूर्वअध्यक्ष रामबहादुर बस्नेतले बेलहिया नाकाको सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ का संयोजक अर्जुन कुमार गिरीले सीमा नाकामा पार्किङलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । पर्यटन व्यवसायी इरफान वारिसले सीमा नाकामा तीन वर्षअघि निर्माण सुरु भएको सार्वजनिक शौचालय अझैसम्म पनि निर्माणसम्पन्न हुन नसक्नु दुःखद भएको बताउनुभयो ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका उपाध्यक्ष डा.शान्त कुमार शर्माले कतिपय स्थानमा सडकको गुणस्तरीयतामाथि प्रश्न उठेकोले गुणस्तरहीन सडक निर्माण गर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन माग राख्नुभयो ।
नेपाल भन्सार एजेण्ट संघ, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले एकीकृत भन्सार जाँच चौकी (आईसीपी) यथाशिघ्र निर्माण हुनुपर्नेमा जोड दिनुभयो । व्यवसायी गंगाराम पराजुलीले नाकामा ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनियर सुशील पौडेलले १० टन क्षमता भएको सडकमा २० टनको गाडी गुड्दा निश्चय नै सडकको क्षमताले धान्न नसक्ने बताउनुभयो । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले बेलहिया नाकाको सुन्दरीकरणमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरे, इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख (प्रहरी निरीक्षक) हरिराम डाँगी, बेलहिया गाउँ समाजका अध्यक्ष सुमन कुमार शर्मा, पूर्वअध्यक्ष सुरेन्द्र क्षेत्री, सचिव माधव शर्मा, व्यवसायी प्राचिन थैव, पशुपति प्रसाद कान्दुलगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij