विश्वले बुद्ध जन्मिएको भूमि हेर्न आउँछ, तर पहिलो दृश्य धुलो, हिलो र सरकारी वेवास्ता
मंगलवार , आषाढ ३०, २०८३
विदुर केसी
लुम्बिनी, रुपन्देही । नेपालको पहिचान विश्वमाझ स्थापित गराउने सबैभन्दा महत्वपूर्ण स्थलमध्ये लुम्बिनी एक हो । संयुक्त राष्ट्रसंघीय संस्था युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत रहेको यो पवित्र भूमिले विश्वलाई शान्ति, अहिंसा, करूणा र मानवताको सन्देश दिएको छ । नेपालका लागि लुम्बिनी केवल धार्मिक तथा साँस्कृतिक सम्पदा मात्र होइन, अन्तर्राष्ट्रिय कूटनीति, पर्यटन, अर्थतन्त्र र राष्ट्रिय पहिचानको केन्द्र पनि हो ।
तर, लुम्बिनी पुग्ने अधिकांश विदेशी पर्यटकहरूले देख्ने पहिलो दृश्य पवित्र मायादेवी मन्दिर नभएर लुम्बिनी साँस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारको विद्रुप दृष्य हो । मायादेवी मन्दिरको मुख्य प्रवेशद्वार बाहिर रहेको यो बजार लुम्बिनीको मुटु भन्दा पनि फरक पर्दैन । यहीँ सडक हुँदै दैनिक हजारौं नेपाली र विदेशी पर्यटक, राष्ट्र प्रमुख, अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल, भिक्षु र अनुसन्धानकर्ता बुद्ध जन्मस्थल प्रवेश गर्छन् । तर, उनीहरूले देख्ने पहिलो ‘नेपाल’ को दृष्यमा व्यवस्थित सडक वा बुद्धत्वको झल्कोसहितको हरियाली नभएर धुलाम्मे सडक, वर्षायामको हिलो, खाल्डाखुल्डी र निर्माणको नाममा वर्षौंदेखि अलपत्र परेको सडकको दुरावस्था हुन पुगेको छ ।
विकासका लागि घर भत्कायौं, तर विकास कहिल्यै आएन
आजभन्दा करिब सात वर्षअघि महिलवार बजारका स्थानीयलाई एउटा ठूलो सपना देखाइयो–लुम्बिनीको गरिमाअनुसार फराकिलो, आधुनिक र व्यवस्थित सडक निर्माण गरिनेछ भन्ने सपना बाँडिएको थियो । यसअन्तर्गत सडकको विस्तार आवश्यक रहेको भन्दै स्थानीयका घर, पसल र अन्य संरचना हटाउनुपर्ने शर्त राखियो । त्यो हटाउने निर्णय गर्नु सहज पक्कै थिएन । धेरैका लागि त्यो घर जीवनभरको कमाइ थियो भने कसैको पुख्र्यौली सम्पत्ति त कसैको जीविकोपार्जनको एकमात्र आधार थियो । तर, विकास र स्थानीय तथा राष्ट्रिय हितका लागि स्थानीयले देखाएको उदार मन त्यागका कारण स्थानीयले आन्दोलन र अवरोध नगरी आफ्नै हातले आफ्ना स्थायी संरचना भत्काएर सहयोग गरे । त्यसबेला सहरी विकास मन्त्रालयअन्तर्गतको बजेटबाट केही महिनाभित्रै आधुनिक सडक बन्ने आश्वासन दिइएको थियो । यहीँ विश्वासमा करोडौं रुपैयाँ बराबरका निजी संरचना हटाइए पनि समय बित्दै जाँदा महिना वर्षमा बदलियो भने हाल त्यो वर्ष पनि झण्डै दशक पुग्न लागेको छ । स्थानीयका घरहरू भत्किए पनि हालसम्म हिलोरहित र फराक सडक भने बन्न सकेन । स्थानीयले त्यागको प्रतिफल विकास हुनेछ भन्ने सोँचेका भए पनि सात वर्षसम्म ‘हामीले विकास पाएनौं, विकासको नाममा दुःख मात्र पायौं’ भन्ने गुनासो गरी बस्न बाध्य छन् ।
एडीबीको ऋण स्वीकृत भनियो, तर ठेक्का प्रक्रिया नै वर्षौंदेखि अन्योलमा
लुम्बिनी साँस्कृतिक नगरपालिकाको पहिलो पाँचवर्षे कार्यकाल आश्वासन, गुरुयोजना र नीतिगत गफमै बित्यो । स्थानीयले राज्यको आह्वान स्वीकार्दै घर–जग्गा र व्यवसाय त गुमाए, तर सडकको सपना अधुरै रह्यो । दोस्रो स्थानीय निर्वाचनपछि आएका नयाँ जनप्रतिनिधिले पनि यसलाई प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता भने दोहोर्याइ नै रहे । एसियाली विकास बैंकको सहयोगमा आयोजना अगाडि बढ्ने चर्चाले स्थानीयमा अन्तर्राष्ट्रिय साझेदार जोडिएपछि अब प्रशासनिक खिचातानी रोकिनेछ भन्ने ‘अन्तिम आशा’ जगाएको थियो ।
तर, स्थानीय तह सरकारको दोस्रो कार्यकाल पनि अहिले अन्तिम चरणमा पुगिसकेको छ । जनप्रतिनिधिको कार्यकाल सकिन करिब एक वर्ष बाँकी रहँदा समेत महिलवार बजारको सडक निर्माण अझै अन्योलको भुमरीमै छ । आश्वासनका चाङ लागे पनि धरातलमा भने काममा शून्य प्रगति छ । आज पनि विगतको सात वर्षमा जस्तै स्थानीयको सहरी विकास मन्त्रालय, नगरपालिका वा एडीबी कसैले पनि किन यो सडक बनाउन सकेनन् ? आखिर यसको वास्तविक जवाफदेहीता कसको हो ? भन्ने प्रश्न ज्यु का त्यु रहेको छ ।
विगतमा विभिन्न समयमा अघि बढाइएका ठेक्का प्रक्रियाहरू प्राविधिक त्रुटी, प्रशासनिक ढिलासुस्ती वा आन्तरिक विवादका नाममा पटकपटक रोकिँदै आएका थिए । हालै नगरपालिकाले गरेको पुनः टेण्डर पनि रोकिएको हल्ला भए तापनि स्थानीय तहले हालसम्म उक्त ठेक्का प्रक्रियाबारे पारदर्शी जानकारी सार्वजनिक गरेको छैन । एउटा अन्तर्राष्ट्रिय महत्वको विश्व सम्पदा क्षेत्रको मुख्य प्रवेशमार्ग सात वर्षसम्म अलपत्र पर्नु सामान्य प्रशासनिक ढिलाइ मात्र नभएर यो आयोजना व्यवस्थापन र स्थानीय सरकारको कार्य क्षमतामाथिको गम्भीर प्रश्नचिह्न हो ।
विडम्बना, पाँच वर्ष बित्न लाग्दासमेत नगरपालिकाले स्थानीय नागरिकलाई निर्माण सम्पन्न हुने कुनै निश्चित समयसीमा दिन सकेको छैन । आफ्नो थातथलो गुमाएर आजित भएका स्थानीय आक्रोशित हुँदै प्रश्न गरिरहेका छन्–‘हामीले घर, व्यवसाय र जीवनका अमूल्य सात वर्ष गुमायौं, के अब पनि केवल आश्वासनको राजनीति मात्रै सुनिरहनुपर्ने हो ?’
विश्व सम्पदा क्षेत्रको प्रवेशद्वार : हिलो र धुलोको कथा
महिलवार बजारको यो सडक कुनै सामान्य ग्रामीण मार्ग होइन । यहाँबाट संसारभरका पर्यटक बुद्ध जन्मस्थल प्रवेश गर्छन् । तर, वर्षायाम सुरु हुनासाथ यहाँको दैनिकी कष्टकर बन्छ । केही घण्टाको वर्षाले पनि सडक पूरै हिलाम्मे हुन्छ भने पैदलयात्री, विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स र होटलमा पुग्ने पर्यटक सबैले उही स्वरूपको सास्ती भोग्छन् । विश्वभरबाट आएका आगन्तुकले लुम्बिनी प्रवेश गर्ने पहिलो क्षणमै भोग्ने यो सास्ती स्थानीय समस्या मात्र नभएर सम्पूर्ण राष्ट्रकै प्रतिष्ठा धमिल्याउने विषय बनेको कुरामा कसैको ध्यान नपुगेको देखिन्छ ।
यस सडकको समस्या वर्षा सकिएपछि सकिने नभएर समस्यको स्वरूप परिवर्तन भएर घाम लाग्नेबित्तिकै धुलोको बादलले ढाकिन्छ । सवारीसाधन गुड्दा उठ्ने धुलोका मुस्लो सिधै घर र होटलका कोठा, रेष्टुरेण्टका टेबल तथा पसलका र्याकहरूमा पुग्छ । व्यवसायीहरू दिनभरी सफाइ गर्दा पनि धुलो नियन्त्रण गर्न सक्दैनन् भने कतिपयका लागि ग्राहकलाई खाना खुवाउनुअघि टेबल बारम्बार सफा गर्नुपर्ने बाध्यता नियती नै बनेको छ ।
विगत सात वर्षदेखिको यो धुलोसँगको संघर्षले स्थानीयको स्वास्थ्य, व्यवसाय र दैनिक जीवन नै पारेको संकटमासँगै बालबालिकामा रुघाखोकी, दम, एलर्जी र श्वासप्रश्वासको समस्या विकराल भएको छ, साथै यसबाट सबैभन्दा बढी वृद्धवृद्धा र दीर्घरोगीहरू प्रभावित छन् । सडकछेउका घरका झ्याल खोल्न र कपडा बाहिर सुकाउन समेत नमिल्ने यो विकासे नियतिले विकासको नाममा प्रारम्भ भएको परियोजना कसरी नागरिकका लागि सास्ती बनिरहेको छ भन्ने प्रष्ट पार्दछ ।
अन्तर्राष्ट्रिय अनुभव, डिजिटल युग र धमिलिँदो साख
विश्वका विकसित र तीव्र आर्थिक विकास गरेका राष्ट्रहरूले आफ्ना ऐतिहासिक तथा धार्मिक सम्पदा क्षेत्रको पहुँचमार्ग, सरसफाइ र समग्र पूर्वाधारलाई राष्ट्रिय प्रतिष्ठाको विषय बनाएर प्राथमिकतामा राख्ने गरेका छन् । चीन, जापान, दक्षिण कोरिया र सिंगापुर जस्ता देशहरूले पर्यटकीय गन्तव्यभन्दा पहिला त्यहाँ पुग्ने अनुभवलाई सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार भव्य बनाएका कारण नै उनीहरू विश्वकै उत्कृष्ट गन्तव्य बन्न सफल भएका हुन् । ती देशहरूले पर्यटन व्यवसायको सफलता त्यहाँका मुख्य स्मारकहरूले मात्र होइन, त्यहाँ पुग्नका लागि चाहिने पूर्वाधारको अवस्थाले पहिलो अनुभूतिले निर्धारण गर्छ भन्ने बुझेका छन् । तर, नेपालमा अन्तर्राष्ट्रिय शान्तिको प्रतीक र विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीकै मुख्य प्रवेशद्वार सात वर्षसम्म अलपत्र रहनुले यस्ता महत्वपूर्ण क्षेत्रमा हुनुपर्ने पूर्वाधारको विकास र आगन्तुकप्रतिको सम्मानमा हाम्रो राज्य संयन्त्रको गैरजिम्मेवारीको तह कति गम्भीर छ भन्ने तथ्य उजागर गर्छ ।
आजको पर्यटन व्यवसाय २० वर्षअघिको जस्तो स्वरूपमा छैन, डिजिटल युगका पर्यटकहरू आफ्नो सम्पूर्ण यात्रा फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राममार्फत संसारभर प्रत्यक्ष प्रसारण गरिरहेका हुन्छन् । विशेष गरी बुद्ध धर्मावलम्बी भएका देशहरू भियतनाम, थाइल्याण्ड, श्रीलंका, म्यानमार लगायतबाट आउने बौद्ध तीर्थयात्री पर्यटकहरूले मायादेवी मन्दिर र पवित्र उद्यानको लाइभ भिडियो देखाउँदै गर्दा महिलवार बजारको धुलाम्मे सडक, हिलो र अव्यवस्थित बजार पनि सँगै कैद भइरहेको हुन्छ भन्नेबारे जिम्मेवार निकाय बेखबर देखिएको प्रतीत हुन्छ । सामाजिक सञ्जालको एउटै भिडियोले लाखौं मानिससम्म तत्काल सन्देश पुर्याउन सक्ने यस समयमा महिलवारको दुर्दशा केवल एउटा स्थानीय समस्या मात्र होइन भन्ने बुझ्नु जरूरी छ । आधुनिक पर्यटनमा पहिलो धारणाले पर्यटकलाई अर्को गन्तव्य रोज्न प्रेरित गर्ने हुँदा यो वेवास्ताले विश्वमाझ नेपालको अन्तर्राष्ट्रिय छवि र पर्यटन अर्थतन्त्रमाथि नै गम्भीर धक्का पुर्याइरहेको छ ।
सरकारको उदासीनता र उत्तरदायित्वको प्रश्न
विगत दुई दशकमा लुम्बिनीको पर्यटन क्षेत्रमा निजी क्षेत्रले अरबौं रुपैयाँ लगानी गरेको छ । महिलवार बजार र आसपासका होटल, रिसोर्ट, रेष्टुरेण्ट र व्यवसायहरूको एकमात्र आधार यहाँ आउने पर्यटक हुन् । तर, व्यवसायीहरू ‘समस्या प्रचारको होइन, पूर्वाधारको हो’ भन्ने धारणा राख्दछन् । राज्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा ‘भिजिट नेपाल’ भन्दै करोडौं खर्च गरेर सुन्दर लुम्बिनीको प्रचार त गर्छ । तर, यहाँ पर्यटकको आँखामा विझाउने पहिलो दृश्य भनेकै धुलो र हिलोको साम्राज्य हो । यस अव्यवस्थाका कारण पर्यटकहरूले बसाई छोट्याउँदा स्थानीय अर्थतन्त्रले सम्भावना र सामथ्र्यको उच्चतम स्वरूप हासिल गर्ने सकेको छैन । आखिर विश्व सम्पदा सूचीको यो मुख्य प्रवेशद्वार सात वर्षसम्म अलपत्र भइरहनुमा जिम्मेवारी कसको हो ? यस अवस्थका कारण लुम्बिनी साँस्कृतिक नगरपालिकाको विकासमुखी कार्यसम्पादन, बिकास बजेट परिचालन र प्रशासनिक पारदर्शितामाथि अब गम्भीर प्रश्न उठेको छ ।
अब भाषण नभएर स्पष्ट समयसीमासहितको योजना कार्यान्वयन चाहिन्छ
मायादेवी मन्दिरको प्रवेशद्वारका रूपमा रहेको महिलवार बजार क्षेत्रका स्थानीयले कुनै असम्भव वा विशेष माग अघि सारेका पटक्कै होइनन् । उनीहरूले केवल सात वर्षअघि राज्यले गरेको वाचा पूरा गर्न आग्रह गरेका छन् । अबका दिनमा लुम्बिनी बजारक्षेत्रका स्थानीयहरूको माग स्पष्ट छ :
महिलवारका नागरिकले विकासका लागि घर, व्यवसाय र धैर्य सबै गुमाए, तर बुद्धभूमिको साख जोगियोस् भन्ने आशा भने अझै पनि गुमाएका छैनन् । आज केवल एउटा सडकको मात्र नभएर नेपालले विश्वलाई प्रचारका रूपमा देखाइरहेको लुम्बिनी र पर्यटकले आफ्नै आँखाले भोगिरहेको हिलाम्य, धुलाम्य लुम्बिनी किन फरक छ ? बुद्धले संसारलाई शान्ति, करुणा र सुशासनको मार्ग देखाएको भूमिको प्रवेशद्वार कहिलेसम्म सरकारी वेवास्ताको प्रतीक बनिरहने ? भन्ने प्रश्न महत्वपूर्ण हो । यो बाह्य स्वरूपमा हेर्दा महिलवारको मात्र समस्या हो कि भन्ने देखिए तापनि यो समस्या समग्र लुम्बिनी र देशकै प्रतिष्ठासँग जोडिएको समस्या हो, यस समस्याको तत्काल सम्बोधन हुनु जरुरी छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij