
आइतवार , जेठ २, २०७८
भैरहवा, २ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले पार्टीको निर्णयविपरीत आफूले कुनै काम नगरेको स्पष्ट पारेका छन् । उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नको निम्ति जनताको सेवामा तत्पर रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार जनता समाजवादी पार्टी नेपाल रुपन्देही जिल्ला सदस्य समेत यादवले लेखेका छन, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कारण हाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ नभई रुपन्देही जिल्ला र लुम्बिनी प्रदेश आक्रान्त छ, जनताको सेवा नै मेरो परम धर्म हो, जनताको सेवामा लागेको छु ।’
पार्टीको नीति–नियम र निर्देशनविपरीत नभइ पार्टीको हितमा आफूले काम गर्दै आएको उनको दावी छ । ‘म जसपा रुपन्देहीको जिल्ला सदस्य जस्तो जिम्मेवार पदमा छु, पार्टीको सिपाही हुँ, पार्टीको निर्देशनविपरीत कुनै कार्य गरेको छैन, ’उनले खबरपात्रोसंग भने ।
जसपा रुपन्देहीले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना सांसदहरु उपस्थिति हुने कार्यक्रममा जिल्लाका कुनै पनि जसपा नेता कार्यकर्ताहरु उपस्थिति नहुने निर्णयविपरीत सहभागि भएको भन्दै अध्यक्ष यादवलाई आइतबार सचेतना पत्र पठाएको छ । ४ जना मन्त्री सहभागि कार्यक्रमको बहिष्कार गर्ने वा सहभागि नहुने निर्णय गरेको अवस्थामा पार्टीका जिल्ला सदस्य मुक्तिनाथ यादव (भोला) एकपटक सहभागि भएको जानकारी प्राप्त भएकोले सचेतनापत्र पठाइएको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए । अब उपरान्त यस्तो किसिमको पार्टीको अनुशासन उल्लघंन हुने क्रियाकलापमा नगर्न/नगराउन चेतावनीसहित पहिलो सचेतना पत्र पठाइएको अध्यक्ष यादवको भनाइ छ ।
सिद्धार्थ नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij