बुधवार , श्रावण १३, २०८३
काठमाडौं, १३ साउन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले निर्वाचन प्रणालीमा समयानुकूल सुधार आवश्यक रहेको बताउनुभएको छ ।
बुधवार संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै उहाँले मतदाता नामावली, मतदानको उमेर, र निर्वाचनका दिन हुने सवारी आवागमनका विषयमा सुझावहरू दिनुभएको हो । प्रमुख सचेतक बुर्लाकोटीले युवाहरूको राजनीतिक संलग्नता बढाउन मतदानको उमेर १६ वर्ष कायम गरिनुपर्ने बताउनु भयो ।
मतदाता नामावली सङ्कलनको झन्झटिलो प्रक्रियालाई अन्त्य गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्र प्राप्त गर्नासाथ व्यक्तिको नाम स्वतः मतदाता नामावलीमा समावेश हुने प्रणाली विकास गर्न उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार र आफ्नो दल सकारात्मक रहेको उल्लेख गर्दै उहाँले यसलाई छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन खर्च घटाउने र मतदाताको सहजताका लागि मतदानको दिन सवारी साधन चलाउन दिनुपर्ने प्रश्ताव समेत बुर्लाकोटीले राख्नुभयो । मतदान केन्द्रको ३०० मिटर परिधिभित्र मात्र सवारी साधन र अनावश्यक भीडभाड निषेध गरी अन्य क्षेत्रमा सहज आवागमनको व्यवस्था मिलाउँदा दलहरूको खर्च कम हुने र सर्वसाधारणलाई सहज हुने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, हाम्रो देशमा युवाहरूको ठूलो जनसङ्ख्या छ, तर उनीहरू मतदान प्रक्रियाप्रति उत्साहित देखिँदैनन् । १६ वर्षकै उमेरमा मतदानको अधिकार सुनिश्चित गर्दा युवाहरूमा नयाँ उत्साह थपिने मेरो विश्वास छ ।
मैले आफैँ निर्वाचन लड्दा मतदानको दिन गाडी रिजर्भ गर्न मात्र ठूलो रकम खर्च गर्नुपरेको थियो । सुरक्षाको उच्च प्रबन्ध गरी फ्री भेहिकल मुभमेन्ट गराउनु आवश्यक छ ।’
उहाँले राजनीतिक दलहरूलाई विचारका आधारमा स्वेच्छिक रूपमा गाभिने वातावरण हुनुपर्ने तर कानुनद्वारा मर्ज हुन बाध्य पार्न नहुने बताउनु भयो । लोकतान्त्रिक पद्धतिमा दलहरू स्वेच्छाले अस्तित्वमा रहने वा नरहने निर्णय गर्न स्वतन्त्र हुनुपर्ने उहाँको भनाइ छ ।
विगतको निर्वाचन अनुभव सुनाउँदै बुर्लाकोटीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सुरक्षा व्यवस्थामा आयोग थप गम्भीर हुनुपर्ने बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij