
सोमवार , जेठ ३, २०७८
भैरहवा, ३ जेठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देहीका युवा नेता विकास यादवले पार्टीविपरीत कार्य गरेको आरोप आफूमाथि लाग्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । लियो क्लब अफ सिद्धार्थनगर जस्तो सामाजिक संस्थाको अध्यक्ष भएकोले सामाजिकस्तरमा संस्थाको तर्फबाट बधाई मात्रै दिएकोले आफू माथि लागेको आरोप दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । ’पार्टीले निर्णय गर्नु अघि नै आफूले बधाई दिएको स्पष्ट पारेका छन् ।
पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागि चार जना मन्त्रीहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागि किन भएको भन्दै जसपा जिल्ला समन्वय समिति रुपन्देहीले यादवलाई आइतबार स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण दिदै युवा नेता यादवले भनेका छन, ‘म जसपा रुपन्देही जिल्ला सदस्य तथा लुम्बिनी प्रदेश युवा संघको वरिष्ठ उपाध्यक्ष समेत रही पार्टीको हकहित र विधान अनुसार नै काम गर्दै आएको छु । उनले पछिल्लो समय राजनैतिक घटनाक्रममा पार्टीविपरीत कार्य गरेको आरोपको खण्डन गरेका छन् ।
‘जिल्ला अध्यक्षज्यूलाई यो पनि जानकारी गराउन चाहन्छु कि कुनै पनि सामाजिक संस्था एउटा व्यक्तिको नभएर समूहको हुन्छ, जुनमा अरु पनि पदाधिकारीहरु हुन्छन् र लियो क्लब अफ सिद्धार्थनगर युथ कुनै पनि राजनीतिक गतिविधिले प्रभावित नभएर स्वतन्त्र रुपमा काम गर्दछ, ’उनले स्पष्टीकरण पत्रमा उल्लेख गरेका छन् । त्यस्तै पार्टीको विधानविपरीत काम गरेको भए यसै पत्रमार्फत आगामी दिनमा ख्याल राखी गर्ने कुरा अवगत गराउँदै पुनः पार्टीप्रति कटिबद्ध रही काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु, ‘उनले भनेका छन् ।
पार्टीको निर्णयविपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सांसद सहभागि भएको भन्दै ४ जना मन्त्री सहभागि भएको कुनै पनि कार्यक्रममा सहभागि नहुने वा बहिष्कार गर्ने निर्णय गरिएको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए । तर उक्त निर्णयविपरीत सहभागि भएका पार्टीका नेता कार्यकर्तालाई सचेतना पत्र पठाइएको र स्पष्टीकरण सोधिएको यादवले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij