२०८३, श्रावण १४ गते

Jul 30 2026 | २०८३, श्रावण १४ गते

सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग

बिहिवार , श्रावण १४, २०८३

  • 127
    Shares
  • 127
    Shares
  • काठमाडौं, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा धार्मिक असहिष्णुता र साम्प्रदायिक तनाव बढ्दै गएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

    बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले सुनसरीमा भएको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्नुभयो । सांसद ओलीले सुनसरीको घटनालाई सत्तारुढ दलहरूले दुःखद् र संवेदनशील भने पनि घटनाको प्रकृति र पृष्ठभूमिका बारेमा मौन बसेको आरोप लगाउनु भयो ।

    बोलबम धार्मिक यात्राका क्रममा हिन्दु धर्मावलम्बीहरूमाथि गोली प्रहार भएको, ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ घाइते भएको तथ्यलाई सरकारले स्पष्ट रूपमा स्वीकार गर्न डराएको उहाँको भनाइ छ ।

    प्रधानमन्त्रीले अनुसन्धान हुनुपूर्व नै सामाजिक सञ्जालमार्फत गोली चलेको विषयमा दिएको अभिव्यक्ति अपरिपक्व भएको उहाँले टिप्पणी गर्नुभयो ।

    उहाँले मोरङ जिल्ला प्रशासन कार्यालयले धार्मिक अनुष्ठानका क्रममा ध्वनि नियन्त्रणका लागि जारी गरेको सूचनाप्रति पनि आपत्ति जनाउनु भयो । एउटा निश्चित धर्म र पुराणलाई मात्र लक्षित गरेर ल्याइएको यस्ता सूचनाले समाजमा इगो (अहंकार) पैदा गर्ने र यसले प्रशासनिक अपरिपक्वता झल्काउने उहाँको तर्क छ । 

    उहाँले भन्नुभयो, ‘बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो । गोली कसले र कसको आदेशमा चलायो ? जिल्ला प्रशासन, प्रहरी र प्रधानमन्त्रीको अभिव्यक्तिमा किन विरोधाभास छ ? यो गम्भीर विषय हो ।

    संवैधानिक राजसंस्थासहितको हिन्दु राष्ट्र रहँदा नेपाल आजको तुलनामा बढी सहिष्णु र सन्तुलित थियो । यो तथ्यलाई भावनाले मात्र होइन, गम्भीर बहस र प्रमाणका आधारमा समीक्षा गरिनुपर्छ ।’

    सांसद ओलीले नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेयता धार्मिक द्वन्द्व र असहिष्णुता बढेको दाबी गर्नुभयो । वाह्य स्रोतको लगानीमा भइरहेको धर्मान्तरण र रोहिंग्या तथा पाकिस्तानी शरणार्थीहरूको अनियन्त्रित प्रवेशले मुलुकको राष्ट्रिय सुरक्षामा चुनौती थपेको उल्लेख गर्नुभयो ।

    सुरक्षा निकायका उच्च अधिकारीहरूले समेत यस विषयमा चिन्ता व्यक्त गरिसकेकाले सरकारले यस्ता संवेदनशील मुद्दामा ध्यान दिनुपर्ने उहाँको माग छ ।