
सोमवार , जेठ ३, २०७८
भैरहवा, ३ जेठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता बैजनाथ गुप्ता (बी.एन.) गुप्ताले पार्टीको हकहित र विधान अनुसार आफूले काम गरेको दावी गरेका छन् । उनले आफ्नो क्षमताले भ्याएसम्म जनता र पार्टीप्रति इमानदार रहि काम गरेको बताए । पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागि चार जना मन्त्रीहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागि किन भएको भन्दै जसपा जिल्ला समन्वय समिति रुपन्देहीले गुप्तालाई आइतबार स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण दिदै जसपा सिद्धार्थनगर कमिटी इञ्चार्ज तथा रुपन्देही जिल्ला सदस्य गुप्ताले आफूमाथि लगाइएको आरोप सरासर गलत र निराधार भएको बताए । ‘विगत एक/डेढ वर्षदेखि पार्टीको प्रत्येक कार्यक्रममा कुनै पनि जानकारी नगराउने गरी बाइपास गर्दै आएको कुरा जिल्लाको बैठकमा मद्वारा सोधपुछ गर्दा हजुरको कुनै पनि जवाफ पाएको छैन, तैपनि हजुरले पार्टीको अग्रपंक्तिका नेता तथा जनताद्वारा निर्वाचित माननीयहरुलाई गालीगलौज गर्ने बेला म अग्रपंक्तिमा रहि पार्टीका साथीहरूका साथ कोभिडका बिरामीहरुको सहयोगमा जुटेको छु, ’उनले भनेका छन् ।
‘हजुरको जे इच्छा लाग्छ गर्नु, गुटबन्दी गर्नको लागि पार्टी एकलौटी सम्पत्ति होइन, ’उनले स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
पार्टीको निर्णयविपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सांसद सहभागि भएको भन्दै ४ जना मन्त्री सहभागि भएको कुनै पनि कार्यक्रममा सहभागि नहुने वा बहिष्कार गर्ने निर्णय गरिएको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए ।
तर उक्त निर्णयविपरीत सहभागि भएका पार्टीका नेता कार्यकर्तालाई सचेतना पत्र पठाइएको र स्पष्टीकरण सोधिएको यादवले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij