बुधवार , भाद्र ३, २०८३
संस्कृति कुनै एउटा पुस्ताले सिर्जना गरेर अर्को पुस्ताले केवल पढ्ने विषय होइन; यो त पुस्तौंदेखि बाँच्दै, बदलिँदै र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको हाम्रो सामाजिक स्मृति हो । हामीले बोल्ने भाषा, मनाउने चाडपर्व, विवाहका संस्कार, तीजका गीत, तिहारको भैलो, आफ्ना रीतिरिवाज, कला, भेषभूषा र सामुदायिक व्यवहारमा हाम्रा अघिल्ला पुस्ताको जीवन बाँचेको हुन्छ । त्यसैले संस्कृति हराउनु भनेको केवल एउटा परम्परा हराउनु होइन; आफू कहाँबाट आएका हौं, हाम्रो सामाजिक पहिचान के हो र हाम्रो मौलिक जीवनपद्दति कस्तो थियो भन्ने एउटा महत्वपूर्ण आधार गुमाउनु पनि हो । तर, आज समय तीव्र गतिमा बदलिरहेको छ । संसारका विभिन्न संस्कृति हाम्रो घर, समाज र विशेष गरी नयाँ पुस्ताको दैनिक जीवनमा सहजै प्रवेश गरिरहेका छन् । नयाँ कुरा सिक्नु, बाह्य प्रभाव ग्रहण गर्नु र समयसँगै परिवर्तन हुनु आफैमा समस्या होइन; समस्या त्यतिबेला सुरु हुन्छ, जब नयाँलाई अपनाउने क्रममा आफ्नै मौलिकता विस्तारै ओझेलमा पर्न थाल्छ । यहीँबाट एकपटक कल्पना गरौं आजभन्दा केही दशकपछि हाम्रो पुस्तापछिको कुनै बालकले आफ्ना हजुरबुबा–हजुरआमासँग सोध्छ–‘हाम्रो मौलिक संस्कृति कस्तो थियो ? हाम्रा चाडपर्व कसरी मनाइन्थे ? तीजको वास्तविक अर्थ के थियो ? तिहारमा भैलो कसरी खेलिन्थ्यो ? नेपाली विवाहका मौलिक संस्कारहरू कस्ता थिए ?’ अनि ती प्रश्नको उत्तर उसले आफ्नै घर, आँगन र समाजमा होइन, पुराना पुस्तक, तस्बिर वा भिडियोमा मात्र खोज्नुपर्ने अवस्था आयो भने हामीले आफ्नो संस्कृति बचाएका हुनेछौं कि केवल त्यसको स्मृति ?
नेपाललाई केवल यसको भौगोलिक सीमाले मात्र चिनाउँदैन । नेपाललाई चिनाउने अर्को गहिरो आधार यहाँको भाषा, संस्कृति, संस्कार, परम्परा, कला, चाडपर्व र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सामाजिक जीवन हो । हिमाल, पहाड र तराईले नेपालको भूगोललाई चिनाउँछन् भने भाषा, संस्कृति र परम्पराले नेपाली समाजको पहिचानलाई अर्थ दिन्छन् । हामी को हौं, कहाँबाट आएका हौँ र हाम्रो समाज कसरी निर्माण हुँदै आयो भन्ने कुरा बुझ्न हाम्रो साँस्कृतिक विरासततर्फ फर्किनैपर्छ । त्यसैले संस्कृति कुनै अघिल्लो पुस्ताले छोडेर गएको पुरानो अवशेष मात्र होइन, यो हाम्रो वर्तमान पहिचान हो र भावी पुस्ताले आफ्नो जरा र अस्तित्व चिन्न सक्ने आधार पनि हो । यदि हामीले आफ्नो भाषा, संस्कृति, संस्कार र मौलिक परम्परालाई क्रमशः गुमाउँदै गयौं भने भोलिको पुस्ताले नेपाललाई भौगोलिक रूपमा त चिन्ला, तर नेपाली पहिचानको वास्तविक आत्मा कहाँबाट चिन्नेछ ?
समय बदलिन्छ । समाज बदलिन्छ । संस्कृति पनि बदलिन्छ । यो स्वभाविक हो । कुनै पनि समाजलाई सयौं वर्षअघिको अवस्थामा स्थिर राख्न सकिँदैन । नयाँ विचार आउँछन्, नयाँ प्रविधि आउँछन्, नयाँ जीवनशैली आउँछन् । बाह्य संस्कृतिसँग सम्पर्क हुन्छ, आदानप्रदान हुन्छ । त्यसबाट सिक्नु र आफूलाई समयअनुकूल परिवर्तन गर्नु आवश्यक पनि छ । त्यसैले बाह्य प्रभावलाई मात्र दोष दिनु मेरो उद्देश्य होइन । प्रश्न यो होइन कि बाहिरबाट आएको कुरा नेपालमा किन आयो । प्रश्न यो हो हामीले त्यसलाई कसरी ग्रहण गरिरहेका छौं ? अरू संस्कृतिबाट राम्रो कुरा सिक्नु विकास हो । आफ्नो आवश्यकता र परिवेशअनुसार नयाँ अभ्यास अपनाउनु परिवर्तन हो । नयाँ कुराले कहिलेकाहीं पुरानो अभ्यासलाई नयाँ अर्थ र नयाँ जीवन पनि दिन सक्छ । तर, अरूको अभ्यास अपनाउँदै गर्दा आफ्नै मौलिक अभ्यासलाई पुरानो, कमजोर वा कम आकर्षक ठान्न थाल्नु भने समस्या हो । ग्रहण र अनुकरणबीचको यही अन्तर आज हामीले बुझ्नुपर्ने आवश्यकता छ । संसारसँग जोडिनु र संसारकै जस्तो बन्न खोज्नु एउटै कुरा होइन । आफ्नो पहिचान कायम राख्दै अरूबाट सिक्न सक्नु नै सायद वास्तविक अर्थमा खुला र विकसित समाजको विशेषता हो ।
मलाई कहिलेकाहीँ लाग्छ, हामी आधुनिक हुन खोजिरहेका मात्र छैनौं, आधुनिक देखिने एउटा अदृश्य प्रतिष्पर्धामा पनि प्रवेश गरिरहेका छौं । विवाहदेखि चाडपर्वसम्म त्यसका केही संकेत देखिन्छन् । विवाहमा नयाँ अभ्यासहरू थपिँदै जानु, तीजको भित्री सामाजिक र भावनात्मक पक्षभन्दा बाहिरी उत्सव र प्रदर्शन बढी चर्चामा आउनु, तिहारको भैलोमा मौलिक साँस्कृतिक स्वरूपभन्दा बाह्य गीत–संगीत र मनोरञ्जनात्मक शैली अगाडि आउनु–यी सबैलाई परिवर्तनको एउटा स्वभाविक रूप भनेर बुझ्न सकिएला । तर, प्रश्न त्यहाँ उठ्छ, जहाँ नयाँपनको आकर्षणसँगै आफ्नै मौलिक अभ्यासहरू ओझेलमा पर्न थाल्छन् । हामीले संस्कृति मनाइरहेका छौं कि संस्कृतिको नाममा केवल एउटा नयाँ प्रदर्शनलाई निरन्तरता दिइरहेका छौं ? एउटा परिवारले अपनाएको अभ्यास अर्को परिवारका लागि देखासिकी बन्नु, एउटा चाडको मौलिक अर्थभन्दा त्यसको बाहिरी रूप ठूलो बन्नु र पुस्तौंदेखि आएको साँस्कृतिक अभ्यासलाई नयाँ पुस्ताले नै अपरिचित महसुस गर्न थाल्नु सामान्य परिवर्तनभन्दा गम्भीर विषय हो । किनकि यहाँ केवल एउटा चाड वा एउटा संस्कारको रूप परिवर्तन भइरहेको छैन, विस्तारै हाम्रो सामूहिक साँस्कृतिक स्मृति र मौलिक पहिचानमाथि पनि प्रश्न उठिरहेको छ ।
संस्कृति यसरी नै हराउँछ । कुनै दिन अचानक घोषणा भएर होइन, विस्तारै । पहिले एउटा गीत गाउन छोडिन्छ । त्यसपछि एउटा भाषा घरमा कम बोलिन्छ । कुनै संस्कारलाई ‘अब कसले गर्छ र ?’ भनेर पन्छाइन्छ । कुनै चाडको मौलिक अर्थभन्दा त्यसको बाहिरी रमाइलो महत्वपूर्ण बन्न थाल्छ । एउटा पुस्ताले आफ्नो अघिल्लो पुस्तासँग त्यस परम्पराको कथा सोध्न छोड्छ र अर्को पुस्ताले त्यो कथा सुन्ने अवसर नै पाउँदैन । अनि कुनै समय हाम्रो जीवनको स्वभाविक हिस्सा रहेको संस्कृति विस्तारै इतिहासको विषय बन्न पुग्छ । इतिहास पुस्तकमा सुरक्षित रहन सक्छ । तर, जीवन्त संस्कृति पुस्तकमा मात्र सुरक्षित रहन सक्दैन । मलाई लाग्छ, नेपाली समाजका अगाडि उभिएको चुनौतीमध्ये संस्कृति संरक्षण पनि त्यत्तिकै महत्वपूर्ण चुनौती हो । किनकि संस्कृति जोगाउनु भनेको केवल पुराना परम्पराहरू जोगाउनु होइन; आफूलाई चिनाउने आधार जोगाउनु हो । आज हामीले आफ्नो भाषा, संस्कार, चाडपर्व, कला, लोकपरम्परा र मौलिक जीवनपद्दतिलाई व्यवहारमा जोगायौं भने त्यसले केवल हाम्रो विगतलाई दोहोर्याउने छैन, बरु नेपाली पहिचानलाई अझ स्पष्ट र बलियो बनाउनेछ । भोलिको पुस्ताले ‘हाम्रा पुर्खाले यस्तो गर्थे रे’ भनेर पुस्तकमा पढेर मात्र चित्त बुझाउनुपर्ने होइन, ‘हामी पनि यसरी नै आफ्नो संस्कृति बाँच्छौं’ भनेर व्यवहारमा देखाउन सक्ने अवस्था निर्माण गर्नु हाम्रो जिम्मेवारी हो ।
रुखको माथि देखिने हरिया पात, फूल र फललाई मात्र हेरेर त्यसको वास्तविक अवस्था बुझ्न सकिँदैन । रुख कति बलियो छ भन्ने कुरा त्यसका जराले जमिनलाई कति मजबुतसँग समातेका छन् भन्ने कुराले निर्धारण गर्छ । हाम्रो समाज पनि त्यस्तै हो । विकास, प्रविधि, आधुनिकता र विश्वसँगको सम्बन्ध हाम्रा नयाँ हाँगा हुन्, तर हाम्रो भाषा, संस्कार, संस्कृति र मौलिक परम्परा त्यसका जरा हुन् । हाँगा फैलिनुपर्छ, नयाँ पात पलाउनुपर्छ, नयाँ फल लाग्नुपर्छ तर जरालाई नै कमजोर बनाएर होइन । जरा बलियो भयो भने परिवर्तनसँगै रूख पनि बढ्छ जरा नै कमजोर भयो भने बाहिरको हरियालीले धेरै दिन त्यसलाई बचाउन सक्दैन ।
त्यसैले अब प्रश्न केवल ‘हाम्रो संस्कृति कस्तो थियो ?’ भन्ने होइन । प्रश्न यो पनि हो ‘हामीले भोलिको पुस्तालाई कस्तो संस्कृति हस्तान्तरण गर्दैछौं ?’ हामीले आज गरेको हरेक सानो छनोटले त्यसको उत्तर लेखिरहेको छ । कुनै मौलिक गीत गाउने कि बिर्सने, आफ्नै भाषा बोल्ने कि केवल अरूको भाषालाई प्रतिष्ठाको प्रतीक बनाउने, आफ्नो चाडको अर्थ बुझ्ने कि त्यसको बाहिरी प्रदर्शनमै सीमित हुने यी सबै साना निर्णयजस्ता देखिए पनि पुस्तौंपछि तिनको प्रभाव ठूलो हुन सक्छ ।
‘त्यसैले हामीले बाह्य संस्कृतिको ढोका बन्द गर्नुपर्ने होइन । ढोका खुला राखौं, तर आफ्नो घरको पहिचान नहराओस् । संसारबाट सिकौं, संसारसँग अघि बढौँ, नयाँपनलाई स्वीकार गरौं, तर आफ्नो मौलिकता बिर्सिने मूल्यमा होइन । किनकी अरूको संस्कृति जान्नु ज्ञान हुन सक्छ, अरूबाट सिक्नु विकास हुन सक्छ । तर, आफ्नो संस्कृति बिर्सनु भने आफ्नो पहिचान गुमाउनु हो । भोलिको पुस्ताले नेपाली संस्कृति पुस्तकमा पढेर मात्र ’यस्तो रहेछ‘ नभनोस्, आफ्नै घर, आफ्नै समाज, आफ्नै चाडपर्व र आफ्नै व्यवहारमा ’यही त हाम्रो संस्कृति हो‘ भनेर अनुभव गर्न सकोस् । त्यसका लागि आज हामीले संस्कृति सम्झिने मात्र होइन, संस्कृतिलाई बचाउनुपर्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij