२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

पहुँच र उपस्थितिको आवश्यकता

शुक्रवार , भाद्र १९, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • सागर न्यौपाने
    विपद्को घडी आफैंमा अत्यन्त संवेदनशील समय हो । यस्तो समयमा नागरिकको जीवन रक्षा, तत्काल उद्धार, राहत र पुनस्र्थापना नै सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्छ । तर, पछिल्ला दिनहरूमा विपद्को वास्तविक पीडाभन्दा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखिने गतिविधि बढी चर्चामा आएको अनुभूति हुन्छ । धेरैको सहयोग, उपस्थिति र पहल प्रशंसनीय छन्, तर देखिएको सबै कुरा नै सम्पूर्ण वास्तविकता भने होइन ।

    हामीले तस्बिर र भिडियोमा देखेका केही स्थानमा राहत पुगेको होला, उद्धारका साधन पुगेका होलान्, सरकारी तथा गैरसरकारी संयन्त्र सक्रिय भएका होलान् । तर, प्रश्न त्यसभन्दा बाहिरको हो–जहाँ क्यामेरा पुगेको छैन, जहाँ सञ्चारको पहुँच छैन, जहाँ सडक र सवारीसाधन पुग्न कठिन छ, त्यहाँका नागरिकको अवस्था कस्तो छ ?

    विपद् व्यवस्थापनको सफलता भीड जम्मा भएको ठाउँमा राज्यको उपस्थिति देखाएर मात्र मापन हुँदैन । राज्यको वास्तविक परीक्षा त त्यहाँ हुन्छ, जहाँ नागरिक आफैंले उद्धार र राहतका लागि राज्यलाई खोजिरहेका हुन्छन् । जहाँ बाटो छैन, जहाँ सम्पर्क टुटेको छ, जहाँ परिवारहरू अझै आफ्ना आफन्तको खोजीमा छन् र जहाँ आधारभूत स्वास्थ्य तथा खाद्यान्नको समेत अभाव छ–सरकार र सहयोगी हातहरू त्यहाँ पुग्न सके कि सकेनन् भन्ने नै महत्वपूर्ण प्रश्न हो ।

    यो समय लोकप्रिय बन्ने प्रतिष्पर्धाको होइन । विपद्को पीडालाई आफ्नो प्रचारको माध्यम बनाउने समय पनि होइन । कसले कति तस्बिर खिच्यो, कसले कति मिडियामा देखियो वा कसले सामाजिक सञ्जालमा कति चर्चा पायो भन्नेभन्दा कसले कति जीवन बचायो, कति पीडितसम्म राहत पुर्यायो र कति कठिन ठाउँमा पुगेर नागरिकलाई साथ दियो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

    निश्चय नै, सहयोग गर्ने प्रत्येक हात सम्मानका योग्य छन् । विपद्मा एक बोरा खाद्यान्नदेखि एउटा औषधि, एउटा उद्धार सामग्रीदेखि एउटा सान्त्वनाको शब्दसम्मको आफ्नै महत्व हुन्छ । तर, सहयोगको भावना प्रचारभन्दा ठूलो र मानवीयता लोकप्रियताभन्दा माथि हुनुपर्छ ।

    आज हामीले एउटा कुरालाई गम्भीरतापूर्वक बुझ्न आवश्यक छ–विपद्को समयमा नागरिकलाई राज्यको फोटो होइन, राज्यको उपस्थिति चाहिन्छ । भाषण होइन, उद्धार चाहिन्छ । आश्वासन होइन, राहत चाहिन्छ । सामाजिक सञ्जालको पोस्ट होइन, जीवन जोगाउने काम चाहिन्छ ।

    त्यसैले अब हाम्रो ध्यान ती ठाउँतर्फ केन्द्रित हुनुपर्छ, जहाँ अझै सहायता पुगेको छैन । बस्ती भएको र गाडी पुगेको ठाउँमा मात्र होइन, पहुँच नपुगेका बस्ती, सम्पर्कबिहीन परिवार र सबैभन्दा जोखिममा रहेका नागरिकसम्म राज्य र सहयोगी हातहरू पुग्नुपर्छ ।

    विपद् सकिएपछि तस्बिरहरू हराउँछन्, समाचारहरू फेरिन्छन् र चर्चा सेलाउँछ । तर, विपद् भोगेका नागरिकको पीडा त्यति सजिलै सकिँदैन । त्यसैले आजको हाम्रो जिम्मेवारी क्षणिक लोकप्रियता होइन, दीर्घकालीन मानवीय उत्तरदायित्व हो ।

    विपद्को घडीमा सबैभन्दा ठूलो उपलब्धि आफू देखिनु होइन, आफू नदेखिए पनि कसैको जीवनमा सहयोग पुग्नु हो ।
    आउनुहोस्, प्रचारको भीडबाट अलि पर हटेर वास्तविक पीडितसम्म पुगौं ।

    जहाँ क्यामेरा पुगेको छैन, त्यहाँ पुगौं । जहाँ राज्यको पहुँच पुगेको छैन, त्यहाँ राज्यको उपस्थिति पुर्याऔं । जहाँ आशा कमजोर हुँदैछ, त्यहाँ सहयोगको हात बढाऔं । किनकी विपद्मा लोकप्रियता होइन, मानवीयता जित्नुपर्छ ।
    (न्यौपाने अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ)