
शुक्रवार , जेठ ७, २०७८
काठमाडौं, ७ जेष्ठ।
राष्ट्रपतिको आव्हान अनुसार विपक्षी गठबन्धनका शीर्ष नेताहरु संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। बिपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दै १ सय ४९ संघिय सांसदको हस्ताक्षरसहित नेताहरु शीतल निवास पुगेका हुन्।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पार्टीका सांसदहरुले नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका नेता देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका हुन्। त्यसो त देउवालाई प्रधानमन्त्रीको दावी गर्न हस्ताक्षर जुटाउन सत्तारुढ दल एमालेका सांसदहरु पनि सक्रिय रहेका छन। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।
उता जसपाका सांसदहरु सबैले देउवालाई समर्थन गरेका छैनन्। जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय सांसदहरुले हस्ताक्षर गरेका छन भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्षीय सांसदहरुको हस्ताक्षर छैनन्। हिजो राष्ट्रपतिले २१ घण्टाको समय दिएर आव्हान गरेको नयाँ प्रधानमन्त्रीको लागि दावी पेश गर्ने घटनाले नेपालको राजनितीमा नयाँ मोड लिएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij